उत्तरी भेगमा रहेका भेडीगोठबाट करोडौँ आम्दानी

काठमाडौं १८ बैशाख । जिल्लाका उत्तरी भेगमा रहेका भेडीगोठबाट करोडौँ आम्दानी हुने गरेको तथ्यांकले देखाएको छ । जिल्लाका विभिन्न स्थानमा भएका घुम्ती भेडीगोठहरूबाट सो रकम आम्दानी हुने गरेको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङले जनाएको हो । 
भेडीगोठमा रहेका भेडाहरूको उन तथा मासुबाट मात्रै १० करोडभन्दा बढी आम्दानी हुने गरेको केन्द्रका पशु विकास अधिकृत खिला घिमिरेले जानकारी दिनुभएको छ । लमजुङमा साविकका २१ वटा गाविसमा ९० वटा भेडीगोठ र ति भेडी गोठमा १७ हजारभन्दा बढी भेडाबाख्राहरू रहेका छन् । घुम्ती भेडीगोठमा पालिएका भेडाहरूबाट मात्रै वार्षिक २ सय टन मासु उत्पादन हुने गरेको घिमिरेले बताउनुभएको छ ।
 घिमिरेका अनुसार प्रतिभेडा ३० हजार रुपैयाँभन्दा बढी मूल्य पर्ने साथै ऊनको मूल्य पनि प्रतिधार्नी ४ सय रुपैयाँभन्दा बढी पर्ने हुदा भेडीगोठबाट प्रतिगोठ वार्षिक ५ लाखभन्दा बढी रकम आम्दानी हुने गरेको छ । भेडाको मासुबाट मात्रै १० करोड भन्दा बढी रकम आम्दानी हुने गरेको घिमिरेले बताउनु भएको छ । यसैगरी सो भेडिगोठमा भएका भेडाबाट वार्षिक ५ हजार किलो ऊन उत्पादन हुने कार्यालयको तथ्यांकमा उल्लेख छ । उत्पादित ऊनमध्ये आधाजसो मात्रै बिक्री गर्ने गरिएको छ । घिमिरेले पहिला उपकरण नहुँदा उनको प्रशोधन झन्झटिलो भएको बताउदै अहिले प्रशोधनको लागि मेसिनको व्यवस्था गरेका भन्दै आम्दानी बढ्ने निश्चित रहेको जानकारी दिनुभएको छ । ऊनबाट वार्षिक २ लाख ५० हजार आम्दानी हुने गरेकोमा अव त्यो आम्दानी पनि बढ्ने अनुमान गरिएको छ । भेडाको उनलाई प्रशोधन गरी स्थानियहरूले राडी पाखी लगायत उनिका कपडा बनाएर बिक्री गर्ने गर्दछन् ।
त्यसैगरी भेडीगोठमा पालिएका बाख्राबाट पनि करोडौं आम्दानी हुने गरेको छ । घुम्ती भेडीगोठहरूमा १० हजारको हाराहारीमा बाख्रा भएको पनि कार्यालयले जनाएको छ । खसीबोकाको मासुबाट मात्रै ६ करोड भन्दा बढी आम्दानी हुने कार्यालयको तथ्याँकमा उल्लेख छ । किसानहरूले वार्षिक एक करोडभन्दा बढी नाफा गर्दछन् । भेडीगोड भएका कृषकले आफ्नो घरखर्च कटाएरै सो नाफा आम्दानी गरेको पशु विकास अधिकृत घिमिरेले बताउनु भएको छ । भेडीगोठबाट भएको आम्दानी केही प्रतिशत साहुलाई बुझाउने र बाँकी भेडा गोठालाहरूले राख्ने गर्दछन् । 
फरक फरक स्थानमा भएका भेडीगोठहरूको तथ्यांक लिने क्रममा आम्दानीको पनि तथ्यांक राखिएको कार्यालयले जनाएको छ । कार्यालयको तथ्यांकअनुसार जिल्लामा ८ सय ५८ घरले घुम्ती भेडीगोठमा भेडा पालन गरेका छन् । घुम्ती भेडीगोठमा पालिएका भेडाहरू अधिकांश पोखरा, काठमाडौंलगायतका क्षेत्रमा निर्यात हुने गरेका छन् । मासुजन्य उपभोगका लागि भेडा तथा बाख्रा सहरमा निर्यात गरिएका हुन् । (कारोबार दैनिक)

 

Comment