प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ मकै जोनको कार्यालय खोटाङले जिल्लाका अगुवा कृषकलाई हाते ट्याक्टर प्रदान

काठमाडौं २२ माघ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ मकै जोनको कार्यालय खोटाङले जिल्लाका अगुवा कृषकलाई हाते ट्याक्टर प्रदान गरेको छ । कृषि क्षेत्रलाई व्यावसायीकरण तथा आधुनिकीकरण गर्नका लागि परियोजनाले सोमबार १५ हाते ट्याक्टर प्रदान गरेको हो ।

प्रोत्साहन अनुदान अन्तर्गत नौ कृषक समूहलाई शतप्रतिशत अनुदानमा र व्यावसायिक रूपमा कृषि पेशा अपनाइरहेका छ किसानलाई मागका आधारमा ५० प्रतिशत अनुदानमा जमीन जोत्ने हाते ट्याक्टर वितरण गरिएको कार्यालयका निमित्त कृषि विकास अधिकृत ध्रुवकुमार कार्कीले बताउनुभएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित फूलबारी कृषक, हरियाली आयआर्जन कृषक, हातेमालो कृषि सहकारी संस्था, पिप्ले दिक्तेलबारी कृषक, पञ्च मावि माझटोल कृषक, खाल्लेस्थित नवजागरण तरकारी कृषक, नयाँ पहिचान कृषक, सक्रिय कृषक र सूर्यमुखी मकै बीउ उत्पादन कृषक समूहलाई शतप्रतिशत अनुदानमा प्रतिगोटा रु ८० हजार मूल्य पर्ने एक÷एक थान हाते ट्याक्टर प्रदान गरिएको परियोजनाले जनाएको छ ।
कृषि ज्ञान केन्द्र दिक्तेलमा आयोजना गरिएको कार्यक्रममा किसानकै मागका आधारमा ५० प्रतिशत अनुदानमा प्रतिगोटा छ हाते ट्याक्टर वितरण गरिएको मकै जोन सञ्चालक समितिका संयोजक दीपेन्द्र राईले बताउनुभयो । परियोजनाले ५० प्रतिशत अनुदानमै सात मकै छोडाउने औजारसमेत प्रदान गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले कृषक तथा कृषि समूहलाई हाते ट्याक्टर तथा मकै छोडाउने औजार प्रदान गर्नुभएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाका ११ वडामा परियोजना सञ्चालन भएको छ ।(गोरखापत्र दैनिक)

Comment