धुलिखेल नगरपालिकाले कृषिमा आधुनिक प्रणाली तर्फ अगाडि बढाउन कृषकलाई मेसिनरी सामग्री वितरण

काठमाडौं ११ असार । धुलिखेल नगरपालिकाले किसानको आयस्तरमा वृद्धि गर्नका लागि परम्परागत खेती प्रणालीबाट आधुनिक प्रणालीतर्फ अगाडि बढाउन कृषकलाई मेसिनरी सामग्री वितरण गरेको छ ।
नगरपालिकाभित्रका कृषिलाई प्राथमिकीकरण गरेर किसानलाई प्रविधि हस्तारण गर्दै उत्पादन र लागत सहभागितामा सहजीकरण होस् भन्ने उद्देश्यले मेसिनरी सामग्री वितरण गरेको नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले बताउनु भएको छ । 
नगरपालिकाबाट दुग्ध उत्पादक किसानलाई चिस्यान केन्द्र, किसानलाई थ्रेसर मेसिन, खेत खन्ने मेसिन, धान काट्ने मेसिन र मकै छोडाउने मेसिन लगायतका विभिन्न खाले मेसिन अनुदानमा वितरण गरेको नगरपपालिका प्रमुख ब्याञ्जुले बताउनु भएको छ । यसबाट ग्रामीण तहको कृषि उत्पादनमा पनि वृद्धि गर्दै आयआर्जनमा वृद्धि हुने र किसानमा रहेको परम्परागत खेती प्रणालीमा आधुनिकीकरण प्रवेश गराउँदै  जीवनस्तरमा नै सुधार ल्याउने उद्देश्यका साथ यो काम गरिरहेको समेत जानकारी दिनुभएको छ ।
त्यससँगै कृषि उत्पादनलाई बजारीकरण गर्नका लागि उत्पादनलाई बजारसँग जोडेर काम गरिरहेको नगरपालिकाले जनाएको छ । नगरप्रमुख ब्याञ्जुले नगरभित्रका पाँच ठाउँमा तरकारी र फलफूल सङ्कलन केन्द्र बनाउँदै गरेको र ती सबै ठाउँका तरकारी तथा फलफूललाई एक ठाउँमा केन्द्रित गरी यहाँबाट काठमाडौँ पु¥याउनका लागि काठमाडौँमा पनि केन्द्र स्थापनाको तयारीमा रहेको बताउनु भएको छ । ‘त्यसका लागि करीब दुई हजार किसानलाई आवद्ध गराएर किसानमा प्रविधि, सीप, दक्षता, र सशक्तीकरण गर्ने काम समेत गर्न लागेको उहाँको भनाई छ ।
त्यससँगै परम्परागतरूपमा सञ्चालन हुँदै आएको आरनलाई सुधार गर्नका लागि मेसिन वितरण गरिएको छ । नगरपालिकाले आदिवासी जनजाति, दलित, युवा पिछडिएका वर्गको हितका लागि परिषद्हरु गठन गरेको र त्यसबाट बेरोजगार युवा, महिला, दलित, जनजातिलाई सीपमूलक तालीम दिने, सीप सिकेकालाई काम गर्नका लागि सामग्री हस्तारण गर्ने र त्यसका लागि पुँजी नभएकाहरुका लागि अरु थप गरीबी निवारण मेयर कोषबाट निर्ब्याजी ऋणसमेत दिएर जीवनस्तर उकास्ने काममा अगाडि बढिरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले ती सबै उद्देश्यलाई पूर्ति गर्नका लागि कृषकलाई ५० प्रतिशत अनुदानमा ७५ ट्र्याक्टर वितरण, प्लाष्टिक टनेल १०० थान, मकै छोडाउने मेसिन नौ, नमूना आरन सुधारका लागि प्रविधियुक्त मेसिनरी सामग्री वितरण गरिएको छ । (इमेज खबर)

Comment