आन्दोलनरत पूर्वका चिया श्रमिक र उद्योगीबीचको वार्ता निष्कर्षविहिन, आइतबार अझ ‘कडा’ आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी

काठमाडौं २४ चैत्र ।आन्दोलनरत पूर्वका चिया श्रमिक र उद्योगीबीच भएको वार्ता बिनानिष्कर्ष टुंगिएको छ। दुई पटकसम्मको वार्तामा श्रमिकको माग पूरा गर्न उद्योगी सहमत नभएपछि श्रमिक संगठनले आइतबार अझ ‘कडा’ आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
सरकारले तोकेको न्यूनतम ज्याला, सामाजिक सुरक्षा ऐन र श्रम ऐन कार्यान्वयन माग गर्दै चैत १७ यता श्रमिक आन्दोनलमा छन्। चिया प्रतिष्ठान बन्द गराएर दिनहुँ (याली, जुलुस र कोणसभा गरिरहेका श्रमिकसँग शनिबार सूर्याेदय नगरपालिकाको पहलमा वार्ता भएको थियो। तर, वार्तामा उद्योगी श्रमिकका मागप्रति ‘टसमस’ नभएपछि आइतबार पुनः आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने तयारीमा रहेको श्रमिक संगठनले बताएका छन्। 
वार्तामा उद्योगीले सरकारले तोकेको ज्याला कार्यान्वयन गर्नुपरे आफूहरूले सरकारसामु राखेका माग पनि पूरा हुनुपर्ने अडान राखेका थिए। नेपाल चिया बगान श्रमिक संघ अध्यक्ष दीपक तामाङले नयाँ माग गरेका नभई सरकारले तोकेको ज्याला र सरकारले जारी गरेकै ऐन कार्यान्वयन गर्नुपर्छ भनेको तर, उद्योगी ऐन र सरकारी निर्णय पालना गर्न सहमत नहुँदा वार्ता निष्कर्षमा पुग्न नसकेको बताउनु भएको छ ।  तामाङले श्रमिकआबद्ध सबै संघ–संगठनका केन्द्रीय प्रतिनिधि बसेर आन्दोलनका नयाँ कार्यक्रम घोषणा गर्ने बताउदै न्यूनतम ज्याला र दुवै ऐन कार्यान्वयन नहुँदासम्म आन्दोलन कुनै हालतमा स्थगित नहुने अडान दोहोराउनु भएको छ । उद्योगीले गत कात्तिकमा सरकारलाई २० बुँदे मागपत्र बुझाउँदै चिया उत्पादन र बिक्रीमा सहुलियत माग गरेका थिए। श्रमिकको आन्दोलन चलिरहेकै बेला उद्योगीले पनि माग राखेपछि सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवको संयोजकत्वमा गठित चिया क्षेत्र अध्ययन उच्चस्तरीय कार्यदल गठन गरेको थियो। तर, कार्यदलले गत फागुन ३० मा सरकारलाई प्रतिवेदन बुझाए पनि प्रतिवेदनमा के छ भन्ने चाहिँ धेरै श्रमिकलाई जानकारी नै छैन । एसोसिएसन अध्यक्ष राईले श्रमिकका माग जायज भए पनि साना चिया उद्योगलाई न्यूनतम ज्यालासहित दुवै ऐन कार्यान्वयन गर्न समस्या हुने बताउनु भएको छ । तेस्रो मुलुकमा चिया निर्यात गर्दा पाउने ५० प्रतिशत भन्सार छुट भारतमा चिया बेच्दा पनि पाउनुपर्ने उद्योगीको मुख्य माग छ। यस्तै, अन्तर्राष्ट्रिय बजारमा चिया निर्यात गर्दा भारतीय भन्सारले खोज्ने सेन्ट्रल फुड ल्याब रिपोर्ट (सिएफएल) नेपालमै परीक्षणको व्यवस्था मिलाएर त्यही परीक्षणलाई मान्यता दिनुपर्ने उनीहरूको माग छ।  गत बुधबार पनि उद्योगी, आन्दोलनरत श्रमिक, किसान र नगरपालिकाका प्रतिनिधिबीच भएको वार्तामा सहमति हुन सकेको थिएन। श्रमिक र उद्योगी आ–आफ्नै अडानमा रहेपछि अघिल्लो वार्ता शनिबारसम्मलाई स्थगित भएको थियो। श्रमिकले आन्दोलन जारी राख्ने बताएपनि आउँदो २७ गते पुनः अर्काे चरणको छलफल बस्ने सहमति भएको छ। सरकारले गत साउन १ देखि नै लागू हुने गरी सरकारले चिया बगानमा काम गर्ने श्रमिकको न्यूनतम ज्याला दैनिक तीन सय ८५ रूपैयाँ तोकेको छ। कारखानाभित्र काम गर्ने श्रमिकको ज्याला त्यसमा दैनिक ४२ रुपैयाँ थपिएको छ। तर, सरकारी स्वामित्वकै चिया बगानका श्रमिक पनि दैनिक दुई सय ६५ रुपैयाँमा काम गर्न बाध्य भएपछि आन्दोलनमा उत्रिएका हुन्। (नागरिक न्युज )

 

Comment