अनुदानका लागि मात्र कृषि व्यवसाय नगर्न गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङको आग्रह

काठमाडौं १४ चैत्र । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले जुनसुकै व्यवसाय पनि मुनाफाका लागि गरिनुपर्ने बताएका छन् । ‘दैनिक गरौँ मह सेवन, हुन्छ स्वस्थ दीर्घ जीवन’ भन्ने नारासहित नेपाल मौरीपालक महासङ्घ गण्डकी प्रदेशले १३औँ राष्ट्रिय मह दिवसका अवसरमा  आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले अनुदानका लागि मात्र कृषि व्यवसाय नगर्न आग्रह गर्नुभएको छ ।
 
मन्त्री गुरुङले सरकारबाट अनुदान लिएर व्यवसाय एक वर्ष टिकाउन सकिएला तर सधैं त्यसकै भरमा खेती गर्न नसकिने बताउनु भएको छ । मन्त्री गुरुङले व्यवसाय मुनाफा हुने गरी गर्नुपर्र्ने र जसले मुनाफा आर्जन गर्न सक्छन् उनीहरु मात्र व्यवसायी हुने बताउनु भएको छ ।  सङ्घ, प्रदेश तथा स्थानीय सरकारले कृषि क्षेत्रमा अनुदानमा ठूलो रकम विनियोजन गर्दै आएको बताउँदै मौरीपालनको व्यावसायिकताका लागि कृषकलाई आर्थिक र प्राविधिक सहयोग सरकारले उपलब्ध गराउने मन्त्री गुरुङको जानकारी दिनुभएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले सरकारले प्रत्येक गाउँमा नमूना कृषि उत्पादन गर्ने नीतिअनुसार ३६ गाउँ छनोट गरेको बताउँदै मौरीपालन व्यवसायलाई पनि नमूना व्यवसायका रुपमा विकास गर्नुपर्ने बताउनु भएको छ । मानव स्वास्थ्य तथा धार्मिक कार्यमा समेत महको प्रयोग गर्ने प्रचलन रहेको छ । मानव शरीरलाई आवश्यक ८४ किसिमका खाद्यतत्वमध्ये ८० खाद्यतत्व महमा पाइने र मह सेवनबाट दम, खोकी तथा शारीरिक दुर्बलताको अन्त्य हुने बताइएको छ ।(हलो खबर)

Comment