भारतले ५४ प्रकारका मुख्य जडीबुटीको नेपालबाट निकासीमा रोक

काठमाडौं १९ पुस । भारतले एक्कासी ५४ प्रकारका मुख्य जडीबुटीको नेपालबाट निकासीमा रोक लगाएपछि नेपालगञ्जमा थन्किएका अधिकांश जडीबुटीको मूल्य दोब्बरले घटेको छ । 
 भारतले आफ्नो देशमा आयात गर्नका लागि सूचीकृत नभएको भन्दै मुख्य जडीबुटीको नेपालबाट निकासीमा रोक लगाएको हो । भारततर्फको निकासी बन्द भएकोले ती जडीबुटीको बजार नै नहुँदा अधिकांश जडीबुटीको मूल्य आधाभन्दा बढी घटेको नेपाल जडीबुटी व्यवसायी संघले जनाएको छ । 
भारतमा सबैभन्दा बढी माग भएका धेरै प्रकारका जडीबुटी आयात गर्न भारतले रोक लगाएकोले मूल्य ह्वात्तै घटेको नेपाल जडीबुटी व्यवसायी संघका अध्यक्ष मोहम्मद याकुब अन्सारीले बताउनुभयो । गोदाममा राखिएका जडीबुटीको आधाभन्दा बढी मूल्य घट्दा व्यवसायीलाई ठूलो नोक्सानी उठाउनुपर्ने अवस्था आएकोले व्यवसायी निकै समस्यामा परेको उहाँले बताउनुभयो । 
अध्यक्ष अन्सारीले भारतले आयातमा रोक लगाउँदा व्यवसायीको हजारौँ क्विन्टल जडीबुटी नेपालगञ्जस्थित गोदाममा थन्किएकै बेला मूल्यसमेत घट्दा थप समस्या भएकोे बताउनुभयो । 
व्यवसायीले निकासीका लागि भनेर पहाडी जिल्लाबाट खरिद गरेर ल्याएका धेरै प्रकारका जडीबुटीको निकासीमा रोक लगाइएकोले नै मूल्य घटेको अध्यक्ष अन्सारीको भनाइ छ । सङ्घका अनुसार दोब्बरभन्दा बढीले मूल्य घटेपछि कृषकले आफूले उत्पादन गरेका जडीबुटी व्यवसायीलाई बिक्री गर्न मानिरहेका छैनन् भने गोदाममा रहेको जडीबुटी पनि व्यवसायीले बिक्री गर्न सकेका छैनन् । सबैभन्दा बढी निर्यात हुने टिमुर, पखानबेद, तेजपत्ता, रिट्ठा जस्ता जडीबुटीको मूल्य दोब्बरले कम भएपछि सिजनमा जडीबुटी बिक्री गरेर आम्दानी गरौँला भनेर बसेका किसान र व्यवसायी दुवै निराश बनेका छन् । 
गत वर्षको सिजनमा प्रतिकेजी एक हजार दुई सयसम्ममा बिक्री भएको टिमुरको मूल्य अहिले प्रतिकेजी ६५० रुपियाँसम्म झरेको छ । पखानबेदको मूल्य ८० रुपियाँ भएकोमा अहिले प्रतिकेजी ४०–५० रुपियाँमा झरेको छ । 
त्यस्तै तेजपत्ता प्रतिकेजी ५५ रुपियाँबाट ३०–४० रुपियाँमा झरेको छ । रिट्ठा प्रतिकेजी ५५ बाट ४० रुपियाँमा झरेको छ । 
गत वर्ष सिजनमा टिमुरमात्र एक लाख ६६ हजार किलोग्रामभन्दा बढी निर्यात भएको थियो । रिट्ठा मात्र पाँच लाख ६९ हजार किलोग्राम बिक्री भएको थियो । त्यस्तै पखानबेद आठ लाख किलो, तेजपत्ता चार लाख ३७ हजार किलो बढी बिक्री भएको संघले जनाएको छ । 
सबैभन्दा बढी भारतमा निकासी हुने तथा माग भएका जडीबुटी पखानवेद, चुत्रो बोक्रा, चुत्रो काठ, अमला, सिकाकाई, पदमचाल, तेजपात, सुगन्ध कोकिला, अश्वगन्धा पाउडर, जटामासी मार्क, अमलवेद, टिमुर, सुगन्धवाल र क्यामोमाइल लगायतका विभिन्न तयारी तेल लगायतका ५४ प्रकारका जडीबुटीमा भारतले निकासीमा प्रतिबन्ध लगाएको छ ।(गोरखापत्र दैनिक )

 

Comment