गोलन्जोर गाउँपालिका ७ मझुवामा जुनारमा लाग्ने किरा व्यवस्थापनका लागि विषादी छर्किदै

काठमाडौं १५ बैशाख । किरा नियन्त्रण गर्न जुनारमा विषादी छर्किन थालिएको छ । क्षेत्रगत किरा नियन्त्रण कार्यक्रम अन्तर्गत गोलन्जोर गाउँपालिका ७ मझुवाबाट किरा व्यवस्थापनका लागि प्रोटिन वेट छर्कन थालिएको हो ।
जुनार सुपरजोन कार्यालयका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत देवराज अधिकारीका अनुसार मझुवा र कमलामाई नगरपालिका ३ जलकन्यामा विषादी छर्किएको छ । लगत्तै गोलन्जोर १ को डाडुभन्ज्याङ २ को विक्तिजोर र वडा ४ को तीनकन्यामा विषादी छर्ने कार्यत्रम छ । त्यसपछि गोलन्जोर ५ को नयाँखर्क, चिसापानी, खनियाँखर्क र तीनपाटन गाउँपालिका १ को तोस्रामखोलामा विषादी छर्ने कार्यालय प्रमुख अधिकारीले बताउनु भएको छ । विषादी छर्नका लागि २५ जना प्राविधिक खटाइएको सुपरजोन प्रमुख अधिकारीले जानकारी दिनुभएको छ । तीनकन्यामा ११, मझुवामा ३, जलकन्यामा ३, खनियाँखर्कमा ३, नयाँखर्कमा ३, बित्तिजोरमा १ र डाडुभन्ज्याङमा १ जना प्राविधिक खटाइएको छ । प्रोटिन वेट विषादी जुनार कृषक र सुपरजोन कार्यालयको ५० र ५० प्रतिशत लगानीमा खरिद गरेका हुन् । प्राविधिक सहयोग भने सुपरजोन कार्यालयले प्रदान गरिरहेको छ । यो बेला फल कुहाउने औंसाको फुल पार्ने समय भएकाले प्रोटिन वेट स्प्रे गर्दा किरा मर्ने अधिकारीले बताउनु भएको छ । गत वर्ष गोलन्जोर ४ तिनकन्यामा नमुनाका रूपमा प्रोटिन वेट प्रयोग गर्दा क्षेक्रगत किरा नियन्त्रण कार्यत्रम प्रभावकारी देखिएपछि यस वर्ष जिल्लाका सम्पूर्ण जुनार क्षेत्रभरि नै प्रोटिन वेट प्रयोग गर्न लागिएको अधिकारीले बताउनु भएको छ । गत वर्ष तिनकन्याको ८ सय रोपनी क्षेत्रफलमा नमुना परिक्षण गर्दा सफल भए पछि जिल्लाभरि नै एउटै प्रविधिको प्रयोग गरी किरा नियन्त्रण गर्न लागिएको हो । यस वर्ष भने ८ सय १७ रोपनी क्षेत्रफलका लागि विषादी आएको जुनार सुपरजोन प्रमुख अधिकारीले जानकारी दिनुभएको छ । अधिकारीका अनुसार प्रोटिन वेट माग गर्ने कृषकहरू अझै रहेकाले यसको क्षेत्रफल बढ्न सक्छ । प्रोटिन बेट खरिदका लागि जुनार किसानबाट ८ लाख १७ हजार ७ सय ७७ रुपैयाँ संकलन भएको छ । विषादी स्प्रे गर्नुपर्ने बोटको आधारमा रकम संकलन गरिएको थियो । जुनारको जिल्ला भनेर चिनिने सिन्धुलीमा जुनार फल कुहाउने औंसा (ब्याक्टेसेरा मिनाक्स) का कारण विगत ४ वर्षदेखि नकारात्मक प्रभाव परिरहेको छ ।(कान्तिपुर दैनिक)

 

Comment