गुर्जाका स्थानीय यार्सा टिप्न लेकतिर

काठमाडौं २७ बैशाख । जिल्लाको धवलागिरी गाउँपालिका–१ गुर्जाका स्थानीय आकर्षक आम्दानीको रूपमा चिनिएको यार्सा टिप्न लेकतिर लागेका छन्। आधा जीव र आधा वनस्पतिको रुपमा परिचित शक्तिवर्धक जडीबुटी यार्सागुम्बा खोज्न गुर्जावासी समूह बनाएर गुर्जा हिमालको आसपासको क्षेत्रतर्फ लागेका हुन्।
गुर्जाको पुरानबुकी,नाउरे, थारखोला, बौरबास, दोथेबास लगायतका क्षेत्रमा यार्सा टिप्न जाने क्रम सुरु भएको स्थानीय युवा गोर्खा छन्त्यालले जानकारी दिनुभयो । गर्मी मौसमसँगै हिमाली क्षेत्रमा बाक्लो हिउँ पग्लिँदै जाने र जमिनबाट झुसिलकीराजस्तै यार्सा उम्रिने गरेपछि गाउँले त्यसतर्फ जाने गरेका छन्। स्वदेश तथा विदेशमा राम्रो बजार रहेको यार्सा संकलनमा पछिल्ला केही वर्षयता विद्यार्थीलाई रोक लगाइएको छ।गाउँमा रहेको सामुदायिक विद्यालयमा विद्यार्थी समेत अभिभावकसँगै जाँदा करिब एक महिना पठनपाठन प्रभावित हुने भएकाले बालबालिकालाई यार्सा संकलनमा जान नपाउने व्यवस्था गरिएको छ। पछिल्लो समय जलवायु परिवर्तनका कारण अपेक्षा गरेअनुसार यार्सा संकलनमा समस्या हुने गरेको स्थानीयले बताएका छन् । गुर्जाबाट करिब चार केजीसम्म यार्सा संकलनको अनुमान गरिएको छ । उपल्लो भेगमा पाइने एक किलो यार्साबाट ३५ सयदेखि ४ हजार बुटी हुने गरेको डिभिजन वन कार्यालयका प्रमुख हरिशचन्द्र सापकोटाले बताउनु भएको छ । हिमाली क्षेत्रका बासिन्दाको जडीबुटी प्रमुख आयस्रोत मानिन्छ। गुर्जाबाहेक मुदी, चिमखोला, कुइनेमंगले, नारच्याङ, शिखलगायत उच्च हिमाली क्षेत्रमा यार्सा पाइन्छ। जिल्लामा करिब २५ केजी यार्सा संकलन हुने अनुमान गरिए पनि अवैध निकासी तथा जलवायु परिवर्तनका कारण संकलनमा कमी आएको जनाइएको छ।(नागरिक दैनिक)

 

Comment