गतवर्षको तुलनामा अदुवाको उत्पादन तथा मुल्य वृद्धि हुदा किसान खुशी

काठमाडौं २ माघ । इलामको फाकफोकथुम गाउँपालिका–२ का किसानहरुले अदुवाबाट यसपालि धेरैले राम्रो आम्दानी गरेका छन् । गत वर्षको तुलनामा यसपटक अदुवा प्रतिमन ९४० किलोको एक मन० रु दुई हजार ५०० देखि तीन हजारसम्म पुगेको छ । 
यतिबेला किसान धमाधम अदुवा खन्नमा व्यस्त छन् भने कतिपयले खनेर बिक्री समेत गरिसकेका छन् । अदुवाबाट भएको आम्दानीले किसानले घर खर्च मात्र चलाएका छैनन् आफ्ना बालबच्चालाई राम्रो विद्यालय पढाएका पनि छन् । अदुवामा कुनै पनि रोग नलागेकाले यस पटक उत्पादन समेत बढेको कृषक बताउँछन् । “विगतमा पात पहेँलिने, अदुवा कुहिने समस्या देखापर्दथ्यो तर यो वर्ष त्यस्ता समस्या देखिएन”, खेमप्रसादले अदुवाबाट भएको आम्दानीले घर व्यवहार धानेको बताउनु भइको छ । 
“अदुवाको मूल्य अहिलेसम्मकै उच्च हो”, बिब्ल्याँटेका अदुवा व्यापारी कृष्ण पौडेलले भन्नुभयो, “मूल्य उच्च भएपछि गाउँगाउँबाट अदुवा आउने क्रम बढ्दै गएको छ ।” उत्पादनको शुरूमा प्रतिमन रु एक हजार ५०० देखि दुई हजारसम्म पुगेको थियो । यस पटक कृषकले प्रतिमन रु दुई हजार ५०० सम्म अदुवा बेचेका थिए ।

यस वर्ष भारतको पञ्जाब, सिक्किम र आसाम राज्यमा अदुवाको उत्पादन कम भएकाले नेपाली अदुवाले राम्रो मूल्य पाएको व्यापारी बताउँछन् । गाउँमा स्थानीय व्यापारीले अदुवा किनेर जिल्लाका ठूला व्यापारीलाई दिने गरेका छन् । मौसममा आठ ट्रकसम्म अदुवा सङ्कलन गरेर बिक्री गर्ने गरेका आमचोकका इन्द्रप्रसाद अधिकारीले पनि यसपटक अदुवाको मूल्य उच्च भएको बताउनुभयो । विगत वर्षदेखि नै इलामको अदुवा भारतीय बजारमा निकासी हुँदै आएको छ । मेची राजमार्गले छोएका जिल्लाका व्यापारिक केन्द्र कोल्बुङ, हर्कटे, फिक्कल, तीनघरे, इलाम, बिब्ल्याँटे, राँकेलगायतका स्थानमा यस पटक उच्च मूल्यमा अदुवा खरिद बिक्री भइरहेको छ ।

जिल्लाका ग्रामीण भेगमा अधिकांश कृषकले अदुवा खेती गर्दै आएका छन् । घर खर्च चलाउनदेखि छोराछोरी पढाउन र अन्य आर्थिक कारोवार गर्न समेत अदुवाको व्यावसायिक खेती गर्दै आएका छन् । इलाममा तीन हजार ७५ हेक्टर जमीनमा अदुवा खेती हुँदै आएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ ।(आजको गोरखापत्रमा समाचार छ ।)

Comment