झापामा व्यावसायिक रूपमा माछा उत्पादन सुरु

काठमाडौं १३ माघ । झापामा व्यावसायिक रूपमै माछा उत्पादन सुरु भएपछि भारतसहित तेस्रो मुलुकबाट आयात हुने माछा र माछाका भुरामा कमी आएको छ।
झापामा माछा उत्पादन बढेपछि प्रत्येक माछा पसलमा स्थानीय माछा प्रशस्त भेटिँदा पूर्वको काँकडभिट्टा, भद्रपुर, गौरीगञ्जसहित इलामको पशुपतिनगर सीमा नाकाबाट भित्रिने माछा आयातमा कमी आएको भन्सार कार्यालयको तथ्यांक छ।
काँकडभिट्टा नाकामा चेक प्वाइन्ट रहेको पशु क्वारेन्टाइन कार्यालयको तथ्यांकअनुसार तीन वर्षयता पूर्वबाट हुने माछाको आयात क्रमशः ओरालो लाग्दै आएको छ। आर्थिक वर्ष २०७१र०७२ मा यो नाका हुँदै दुई हजार एक सय आठ दशमलव ६६ मेट्रिक टन माछा आयात भएको थियो। यो दर आर्थिक वर्ष ०७३र०७४ मा झन्डै आधा घटेर एक हजार ६ सय ७४ मेट्रिक टनमा झरेको छ। २०७४र०७५ मा एक हजार पाँच सय ६० मेट्रिक टन मात्रै माछा आयात भएको छ।
चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा दुई सय ८९ मेट्रिक टन मात्र आयात भएको पशु क्वारेन्टाइन कार्यालय काँकडभिट्टाको तथ्यांकले देखाएको छ। यो नाकाबाट माछा मात्र नभई माछाको भुराको आयातमा पनि कमी आएको देखिएको छ। कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२र७३ मा २० लाख दुई हजार माछाका भुरा आयात भएकोमा एक वर्षपछि घटेर एक लाख ८३ हजारमा सीमित भएको पशु क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका निमित्त प्रमुख महेशकुमार सिंहले बताउनु भएको छ । सरकारले व्यावसायिक रूपमा माछा पाल्ने किसानलाई पोखरी खन्न अनुदान दिएका कारण व्यावसायिक माछापालनमा किसानको आर्कषण बढेको कृषि ज्ञान केन्द्र झापाको भनाइ छ। सरकारले एक हेक्टर क्षेत्रफलमा माछापालन गर्दै आएका किसानलाई तीन लाख रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ। झापामै धमाधम माछापालन हुन थालेपछि बजारमा समेत स्थानीयस्तरमै उत्पादन हुने ताजा माछाको माग बढेको माछा व्यापारी बताउँछन्। 
झापामा तीन सय २९ हेक्टर क्षेत्रफलमा किसानले व्यावसायिक रूपमा माछापालन गर्दै आएका छन्। जिल्लामा पछिल्लो आर्थिक वर्षमा एक हजार ५० मेट्रिक टन माछा उत्पादन भएको थियो। गत वर्ष जिल्लामा १५ हेक्टरका लागि ४५ लाख रुपैयाँ अनुदान आएको बताइएको छ। माछापालनका लागि जिल्लाको मेचीनगर–७ पकेट क्षेत्र मानिए पनि पछिल्लो चरणमा गौरादहका किसानले अत्यधिक रूपमा व्यावसायिक माछापालन सुरु गरेका छन्। अहिले गौरादह नगरपालिका माछा पालनका लागि पकेट क्षेत्र मानिएको छ।

 

Comment