कालिमाटी तरकारी बजारमा गोला प्रथाद्वारा स्टल वितरण, बैंकिङ कारोबार गर्नेलाई उच्च प्राथमिकता

काठमाडौं ३ जेष्ठ । कालिमाटीमा अब गोला प्रथाद्वारा स्टल वितरण गरिने भएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तयार पारेको ‘स्टल वितरण तथा सञ्चालन कार्यविधि, २०७५’ मा गोला प्रथा गरेर स्टल वितरण गरिने व्यवस्था गरिएको हो । 
पहिला नेपाली नागरिक जो कोहीले पनि आवेदन दिएपछि सजिलै स्टल पाउने व्यवस्था थियो । अहिले त्यसलाई मूल्याङ्कनको आधारमा गोलाप्रथा गरी स्टल पाउने व्यवस्था कार्यविधिमा गरिएको समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पोखरेलले बताएका छन । 
व्यवसायीले स्टलको आवेदन दिँदा स्टलको प्रकार खुलाएर समितिले तोकेको ढाँचामा आवेदन दिनु पर्ने, व्यवसायीले एकपटकमा एउटा वर्गमा मात्र आवेदन दिनु पर्ने, एकभन्दा बढी समूहमा आवेदन गरेको पाइएमा निजको सबै समूहमा परेको आवेदन रद्द हुने लगायतका मापदण्ड कार्यविधिमा व्यवस्था गरिएको छ ।
समितिले आफ्नो स्वामित्वमा रहेका स्टलहरूलाई एक सय प्रतिशत मानि दुई समूहमा वर्गीकरण गरेको छ । थोक विक्री कारोबारका लागि खुलातर्फ ९१ प्रतिशत, साझा, सहकारी सङ्घ संस्था र समूहका लागि ९ प्रतिशत रहेको छ। त्यस्तै, खुद्रा कारोबारका लागि खुल्लातर्फ सय प्रतिशत रहेको छ ।
स्टल वितरणमा आफै खेती गर्ने किसानलाई पहिलो, कुनै सहकारीसँग सम्झौता गरी कारोबार गर्नेलाई दोस्रो र खरिद गरी व्यापार गर्नेलाई तेस्रो प्राथमिकता दिइने छ।
त्यस्तै, कालिमाटी बजारको भरीयाले समेत फोटो सहितका परिचयपत्र लिनुपर्ने कार्यविधिले व्यवस्था गरेको छ । व्यवसायीले समितिले तोकेको ढाँचामा सर्वसाधारणले देख्ने गरी मूल्य सूची राख्नु पर्ने छ ।

 

Comment