कृषि क्षेत्रको अनुसन्धान र प्रविधि विस्तारका लागि नेपाल–चीन बीच सम्झौता

काठमाडौ ४ पुस । चीनले नेपालको कृषि क्षेत्रको अनुसन्धान र प्रविधि विस्तारमा सहयोग गर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र चीनको वाणिज्य विभागबीच कृषि क्षेत्रमा सहयोग गर्ने गरी सहमती पत्रमा हस्ताक्षर भएको हो ।
बुधबार मन्त्रालयमा एक कार्यक्रम गरी कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल, राज्यमन्त्री रामकुमारी चौधरीको उपस्थितीमा सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । नेपालको तर्फबाट योजना महाशाखा प्रमखु सहसचिव डा. योगेन्द्रकुमार कार्की र चीनको तर्फबाट विभागका प्रवन्ध निर्देशक बेन जेनले हस्ताक्षर गरेका छन ।
नेपालको रसुवा, नुवाकोट र सिन्धुपाल्चोकमा संचालन गरिने परियोजनामा मुख्य गरी आलुबाली, घाँस, ब्रोईलर तथा लेयर्स कुखुरा, च्याउ, तरकारी र रेन्बो ट्राउट माछामा विभिन्न अत्याधुनिक प्रविधिको अनुसन्धान तथा विस्तार गरिने मन्त्रालयका उपसचिव शंकर साप्कोटाले जानकारी दिनुभएको छ ।
यो परियोजना १९ डिसेम्बर २०१८ देखि १८ डिसेम्बर २०२१ सम्म संचालन हुनेछ । परियोजना संचालनको लागि चीन सरकारले २७ मिलियन चाईनिज युआन सहयोग गर्ने घोषणा गरेको हो । यो परियोजनामा नेपालका किसान र प्राविधिक कर्मचारीका लागि ६० जनालाई चीन लगेर र अन्य २४० जना किसानलाई नेपालमै तालिम दिइने बताइएको छ ।

 

Comment