मुगुका हिमाली पाटनहरूमा आगामी जेठ २० गतेबाट यार्सा संकलन खुला गरिने

काठमाडौं ३१ बैशाख । मुगुका हिमाली पाटनहरूमा आगामी जेठ २० गतेबाट यार्सा संकलन खुला गरिने भएको छ । करिव एक दशकदेखि पूर्वी करान भेगको हिमाली क्षेत्र सानो कोइकी, ठूलो कोइकी, रिमार, टाँके छापाखोला, हाङदाङ खोलालगायत स्थानमा पाइने बहुमुल्य यार्सागुन्बु संकलन हुँदै आएको छ । यो वर्ष पनि यार्सागुम्बु संकलन गर्न मुगुम कामारोङ गाउँपालिकाको कार्यपालिका बैठकले जेठ २० गतेबाट यार्सा संकलनका लागि वन प्रवेशको अनुमति दिने निर्णय गरेको हो ।
मुगम कामारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाका अनुसार यार्सागुम्बु संकलन गर्न मुगुका बासिन्दालाई प्रतिव्यक्ति २ हजार र जिल्ला बाहिरका संकलकहरूलाई प्रतिव्यक्ति २ हजार ५ सय प्रवेश शुल्क तोकिएको छ । यसरी संकलन भएको शुल्क गाउँपालिका, व्यवस्थापन र यार्सा पाईने वडालाई भाग गरिनेछ । प्रवेश शुल्कवापत संकलित शुल्क गाउँपालिकाले ३५ प्रतिशत, व्यवस्थापन खर्च २५ प्रतिशत र सम्वन्धित वडा नं. २ लाई ४० प्रतिशत रकम दिने गरी विभाजन गरिने भएको छ । यो वर्ष यार्सागुम्बुबाट १ करोड रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य गाउँपालिकाको छ ।
मुगुका उच्च हिमाली पाटनमा पाईने यार्सागुम्बु संकलनका लागि कर्णाली प्रदेशका १० जिल्ला लगायत बाजुरा, जाजरकोट, अछाम, बाँके, बर्दिया, कैलाली, काभे्रपलान्चोक, सिन्धुपाल्चोक, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, जुम्ला, हुम्ला, कलीकोटबाट हजारौं मानिस आउने गर्दछन् ।
यार्सा सिजन सुरु भएसँगै पाटन जान खोज्नेहरूको चहलपहल बढ्न थालेको छ । गत वर्ष यार्सागुन्बुबाट ५७ लाख ७१ हजार रूपैयाँ राजस्व संकलन भएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास रिजालले संकलित राजस्व मध्ये १७ लाख रूपैयाँ व्यवस्थापनमा खर्च भएको र वडा नं. २ लाई दिएको ४० लाख ७१ हजार विकास निर्माणमा खर्च गरिएको बताउनु भएको छ ।(कारोबार दैनिक )

 

Comment