म्याग्दे गाउँपालिका– ६ का कृषकलाई मौरीको घार वितरण

काठमाडौं २९ चैत्र । किसानलाई अनुदानमा मौरीको घार वितरण गरिएको छ । म्याग्दे गाउँपालिका– ६ का कृषकलाई मौरीको घार वितरण गरिएको हो । वडाध्यक्ष वसन थापाले कृषकहरूलाई मौरीपालन सम्बन्धी तालिम दिएर ९० वटा घार वितरण गरिएको जानकारी दिनुभएको छ । थापाले मौरीपालनमा कृषकको आकर्षण बढाउन ५० प्रतिशत अनुदानमा घार वितरण गरेको र यसले कृषकलाई व्यावसायिक बन्न सहयोग पुग्ने विश्वास लिइएको बताउनु भएको छ । चार हजार रुपैयाँ पर्ने घार कृषकलाई दुई हजार रुपैयाँमा उपलब्ध गराइएको छ । पछिल्लो समय युवापुस्ता वैदेशिक रोजगारीमा जाने क्रम बढ्दा गाउँ नै शून्य हुन थालेपछि स्वदेशमै पनि कृषि व्यवसायबाट राम्रो आम्दानी लिन सकिन्छ भन्ने उद्देश्यले कार्यालयले घार प्रदान गरेको हो । वडा सचिव विजयराज खनालले १० वटा टोल विकास संस्था मार्फत कृषकलाई मौरीको घार उपलब्ध गराइएको बताउनु भएको छ । कार्यक्रममा वडाभरिकै उत्कृष्ट मौरीपालक कृषक मैता शाहीलाई प्रोत्साहन स्वरूप पाँचवटा घार निःशुल्क उपलब्ध गराइएको छ । व्यावसायिक रूपमा मौरीपालन गर्दै आउनु भएकी कृषक शाहीले प्रोत्साहनस्वरूप पाँचवटा घार पाएपछि थप हौसला मिलेको बताइउनु भएको छ ।  कृषक शाहीले कृषकको मिहिनेतको मूल्यांकन गरेर पुरस्कृत गर्दै जाँदा थप मनोबल बढ्नुका साथै व्यावसायिक बन्न प्रेरणा मिल्ने बताउनु भएको छ । वडामा रहेका अन्य कृषकले पनि व्यावसायिक रूपमा मौरीपालन गर्न चाहेमा घार उपलब्ध गराइने कार्यालयले जनाएको छ । कार्यालयले मौरीको घार वितरण सँगसँगै बाख्रापालन गर्न चाहने १० कृषकलाई एक–एकवटा बिउ बोकासमेत वितरण गरेको छ । जिल्लाका १० वटै स्थानीय तहले कृषकलाई व्यावसायिक बनाउन अनुदानमा हलो, हाते ट्र्याक्टर, मौरीको घार, बिउ बोका लगायत दिँदै आएका छन् ।(नयाँ पत्रिका )

Comment