मल नपाएपछि धादिङका छ सय भन्दा बढी किसानहरु आन्दोलनमा, प्रशासन कार्यालय घेराउ, कृषिमन्त्रीको राजीनामा माग

काठमाडौं १९ जेष्ठ । मल नपाएपछि आक्रोसित धादिङका किसानहरुले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । मल लिनका लागि आइतबार बिहानैदेखि सदरमुकामस्थित नीलकण्ठ सहकारी आसपासमा लामबद्ध भएका किसानहरु मल नपाएपछि आक्रोसित बन्दै प्रशासन कार्यालय घेराउ गरेका हुन् । नाराबाजी गर्दै प्रशासनको मुख्य गेट अगाडि पुगेका ६ सय भन्दा बढी किसानहरुले सरकारको आलोचना र कृषि मन्त्रीमा राजीनामाको माग समेत गरेका थिए ।
बजारमा मलको अभाव भएपछि लगाएको खाद्यन्न तथा तरकारी बालीमा मल हाल्न नपाएको नीलकण्ठ नगरपालिका वडा नं ४ की सरस्वती ढकालले बताउनु भएको छ । खेतमा लगाइएको धान र मकैमा फल लाग्ने समय भएको छ, तर बजारमा मल नपाउँदा नपाउँदा किसानहरु चिन्तित बनेका छन् ।
धादिङमा बर्षेनी मलको हाहाकार हुने गर्दछ । किसानहरुले जसोतसो बाली लगाएपनि त्यसलाई हुर्काउने समयमा मलको हाहाकार हुने गरेको छ । मल लिनका लागि नाम्लो र बोरा बोकेर तीन, चार हप्तादेखि सदरमुकाम धाइरहेका छन् । तर पाउन सकेको छैन ।
लामो समयदेखि धादिङका किसानहरुलाई सहुलियत दरमा रासायनिक मल वितरण गर्दै आएको नीलकण्ठ सहकारी संस्था अगाडि दिनहुँ भीड हुने गर्दछ । सहकारीमा थोरै मल आउने भएका कारण किसानहरुको माग र आवश्यकतालाई परिपूर्ति गर्न नसकिएको सहकारीका अध्यक्ष बलराम श्रेष्ठले बताउनु भएको छ ।
मलको अभाव भएपछि तत्कालको समस्या समाधानका लागि धादिङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले साल्ट्र ट्रेडिङ कर्पोरेशनलाई मल पठाइदिन अनुरोध गर्नुभएको छ ।

 

Comment