नेपालबाट भारततर्फ हुने जडिबुटीको निकासी पूर्णरूपमा बन्द, निकासी बन्द हुँदा करिब १० अर्बभन्दा बढीको जडिबुटी व्यवसायीका गोदाममा थन्कियो

काठमाडौं ५ बैशाख । दुई महिना यता नेपालबाट भारततर्फ हुने जडिबुटीको निकासी पूर्णरूपमा बन्द भएको छ । निकासी बन्द हुँदा करिब १० अर्बभन्दा बढीको जडिबुटी व्यवसायीका गोदाममा थन्किएको नेपाल जडिबुटी व्यवसायी संघले पत्रकार सम्मेलन गरेर जनाएको छ ।
 १० हजार मेट्रिक टन बढी जडिबुटी गोदाममा थन्किएको संघका अध्यक्ष मोहम्मद याकुब अन्सारीले बताउनुभएको छ । भारतीय क्वारेन्टाइनले ५४ प्रकारका विभिन्न जडिबुटीको भारत निकासीमा प्रतिबन्ध लगाउँदा निकासी बन्द भएपछि जडिबुटी खेती, संकलन र व्यापारमा लागेका २५ लाख नेपाली प्रभावित भएको अन्सारीको भनाइ छ । अन्सारीले नेपालगन्जमा मात्र करिब डेढ अरबको १ हजार ५ सय मेट्रिक टन जडिबुटी गोदाममा थन्किएको बताउनु भएको छ । भण्डारणको राम्रो व्यवस्था नहुँदा गोदाममा थन्किएका अधिकांश जडिबुटी खराब हुन थालेकोले व्यवसायीले ठूलो नोक्सानी उठाउनु पर्ने अवस्था आएको अन्सारी जानकारी दिनुभएको छ । भारतमा सबैभन्दा बढी निकासी हुने जडिबुटीमध्ये रिठा, टिमुर, बोजो, तेजपत्ता, कुटकी, दालचिनी र कपुर भारत तथा नेपालमा नाममात्रै फरक परेका कारण भारतले निकासीमा प्रतिबन्ध लगाएको अगुवा व्यवसायी रवीन्द्रनाथ शुक्लाले बताउनु भएको छ । शुक्लाले सरकारका मन्त्रीदेखि लिएर विभागका अधिकारीसम्म पटकपटक सोबारेमा गुनासा गरे पनि आश्वासन बाहेक केही नपाएको गुनासो गर्नुभएको छ । जडिबुटी समस्या समाधान समितिका संयोजक मोहम्मद युनुस हल्वाईले निकासी बन्द हुन्दा ठूलो नोक्सानी भइरहेकाले धेरै दिनसम्म यसरी नै बस्न नसकिने जनाउँदै आन्दोलन गर्ने चेतावनीसमेत दिनुभएको छ । भारतमा सबैभन्दा बढी निकासी हुने जडिबुटीमध्ये रिठा, टिमुर, बोजो, तेजपत्ता, कुटकी, दालचिनी र कपुरको भारत तथा नेपालमा नाम मात्रै फरक परेका कारण निकासीमा प्रतिबन्ध लगाइएको जडिबुटी समस्या समाधान समितिका संयोजक हल्वाईले बताउनु भएको छ  । यसैबीच नेपालगन्ज आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि मंगलबार साँझ भेटेर व्यवसायीले ज्ञापनपत्र बुझाएको संघका अध्यक्ष अन्सारीले बताउनु भएको छ । निकासी छिटै सुचारु नगरिए व्यवसाय नै समाप्त हुने भन्दै यसका लागि पहल गरिदिन प्रधानमन्त्रीसँग अनुरोध गरिएको अन्सारीले बताउनु भएको छ । प्रधानमन्त्री ओलीले सोबारेमा आफूले तत्काल पहल गर्ने आश्वासन दिएको अन्सारीले जानकारी दिनुभएको छ । ९९ प्रतिशत जडिबुटी भारतमै निकासी हुँदै आएकोमा अहिले निकासी बन्द हुँदा किसान, संकलक र व्यवसायी सबै मारमा परेको संघको भनाइ छ । भारतीय क्वारेन्टाइनले बोजो, इलायची, अकरकरा, चुठोको जरा, ब्राह्मी, कपुर, दालचिनी, बेसार, ओखर, धूप, काउलो, पुदिना, तुलसी, कुटकी, पिपल, मजिठो, रिठा, गोखरु, मेथी, सिस्नुको पात, झयाउ, सुगन्धवाल, टिमुर र सुठोलाई मात्र निकासीको अनुमति दिइएको छ । अन्य सबै जडिबुटीको निकासीमा रोक लगाएको छ । सबैभन्दा बढी भारतमा निकासी हुने तथा माग भएका जडिबुटीहरू पखानवेद, चुत्रो बोक्रा, चुत्रो काठ, अमला, सिकाकाई, पदमचाल, तेजपात, सुगन्ध कोकिला, अश्वगन्धा पाउडर, जटामासी मार्क, अमलवेद, टिमुर, सुगन्धवाल र क्यामोमाइल लगायतका विभिन्न तयारी तेललाई समेत निकासीमा प्रतिबन्ध लगाइएको जडिबुटी ब्यवसायी संघले जनाएको छ । संघका अनुसार ०७२÷७३ मा ४६ लाख ३८ हजार २ सय १५ किलो जडिबुटी नेपालगन्ज नाकाबाट निकासी भएको थियो भने ०७३÷७४ मा घटेर ४० लाख ५० हजार ६ सय ७४ किलोमा पुगेको थियो । ०७४÷७५ मा आधाभन्दा पनि बढी निकासी घटेर २७ लाख ५४ हजार २ सय किलोमा झरेको थियो भने चालू आवमा अहिले निकासी शून्य भएको छ ।( कारोबार दैनिक)

 

Comment