नेपालमा पछिल्लो सात महिनामा १ खर्ब २९ अर्ब रुपैयाँ बराबरको कृषिजन्य वस्तु आयात

काठमाडौं १५ चैत्र । कृषिप्रधान मुलुक नेपालले पछिल्लो सात महिनामा १ खर्ब २९ अर्ब रुपैयाँ बराबरको कृषिजन्य वस्तु आयात गरेको छ । कृषि क्षेत्रको विकासका लागि सरकारले बर्से्नि बजेट बढाउँदै लगे पनि मागअनुसार स्थानीय उत्पादन नहुँदा बर्से्नि डेढ खर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात भएकोे हो । छिमेकी मुलुक भारतबाट अधिकांश कृषिजन्य वस्तुको आयात हुने गरेको छ । स्वदेशी वस्तुको निर्यात समेत भारतमा नै धेरै हुने गरेको छ । 
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार सात महिनामा १ खर्ब २९ अर्ब रुपैयाँ बराबरको कृषिजन्य वस्तुको आयात भएको छ । कृषिजन्य वस्तुको आयात बढ्दै गए पनि निर्यात भने न्यून रहेको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा ठूलोमात्रमा कृषिजन्य वस्तु आयात हुने गर्छ । अघिल्लो वर्ष सोही अवधिमा एक सय ६ अर्बको कृषिजन्य वस्तुको आयात भएको थियो । 
व्यापारविज्ञ पुरुषोतम ओझाले खाद्यान्नको उत्पादन बढाउन नसक्दा कृषिजन्य वस्तुको आयात बढ्दै गएको बताउनु भएको छ । कृषि उत्पादन कम हुनु, कृषि पेशामा आकर्षण घट्दै जानु र काम गर्ने जनशक्ति रोजगारीका लागि खाडि मुलुकमा गएकाले उत्पादन घट्दा आयात बढ्दै गएको ओझाको भनाइ छ । सात महिना २० अर्ब ५५ करोड रुपैयाँको चामल आयात भएको केन्द्रको तथ्यांक छ । सो अवधिमा ९ अर्ब ५५ करोड रुपैयाँको तरकारी आयात भएको छ । यस्तै, ९ अर्ब ८३ करोड रुपैयाँ बराबरको फलफुल, सात अर्ब ७२ करोडको मकै आयात भएको केन्द्रको तथ्यांकले देखाएको छ भने ७ अर्ब ३१ करोड रुपैयाँ बराबरको भटमासको कच्चा तेल,३ अर्ब ८३ करोडको सूर्यमुखी तेल आयात भएको छ । यस्तै एक अर्ब रुपैयाँ बराबरको डेरी उत्पादन आयात भएको छ । 
भारत सरकारले कृषिमा प्रयाप्त अनुदान दिएकाले सस्तो मुल्यमा तरकारी भित्रिने गरेको छ । स्वदेशी उत्पादनको लागत महँगो पर्ने हुँदा भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा सस्तो मूल्यमा तरकारी आयात हुने गर्दछ । यो वर्ष मुलुकमा धानको उत्पादन बढेपनि चामलको आयात भने कम हुन सकेको छैन । स्थानीय उत्पादनले माग धान्न नसक्दा बर्सेनि आर्बौं रुपैयाँको खाद्यान्न आयात हुने गरेको छ । पछिल्लो समय खेतीयोग्य जमिन खडेरीमा प्रयोग हुनु, जनशक्तिको अभाव, खानेबानीमा परिवर्तन लगायतले गर्दा पनि चामलको आयात बढ्दै गएको कृषि विज्ञ बताउँछन् । 
खाद्यान्न उत्पादन बढाउन सरकारले बर्सेनि विभिन्न कार्यक्रम सञ्चालन गरे पनि आयात भने प्रतिस्थापन हुन सकेको छैन । नेपालबाट ऊनी गलैंचा,तयारी पोशाक, जुट तथा जुटका सामानहरू, जुस, चिया, कपडा, अलैंची, पश्मिना लगायतका अन्य सामान निर्यात हुने गर्छ । .सात महिनामा गलैचाको निर्यातमा १०.१ प्रतिशतले वृद्धि भई ४ अर्ब २१ करोडको निर्यात भएको छ । फलाम तथा स्टील र तिनका उत्पादनहरूको निर्यातमा ३१.४ प्रतिशतले वृद्धि भइ ४ अर्ब ३५ करोड भएको छ । (कारोबार दैनिक)

 

Comment