‘प्रतिलिटर एक रुपैयाँ’ अनुदान ठूला किसानलाई मात्र,साना किसानले अनुदान नपाएको गुनासो

काठमाडौं ३ माघ । किसानको नाममा वितरण भएको ‘प्रतिलिटर एक रुपैयाँ’ अनुदान ठूला किसानले मात्रै पाएको खुलासा भएको छ । पशुजन्य उत्पादन वृद्धि तथा बजारीकरणका लागि सरकारले पाइलट कार्ययोजनाका रूपमा दुग्ध उत्पादक सहकारीमार्फत वितरण गरे पनि अनुदान ठूलाले मात्रै पाएका हुन् । 
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार उक्त कार्यक्रम पशु सेवा विभागले कार्यान्वयन गरेको हो । कार्यक्रमअन्तर्गत विभागले आर्थिक वर्ष २०७३ , ७४ र २०७४ र ७५ गरी १४ करोड बजेट विनियोजन गरेको थियो । सरकारले ठुला किसानको मात्र काम गरेको एक–दुई वटा गाई–भैंसी पालेर जीविकोपार्जन गर्ने किसान सधै मर्कामा रहेको मध्यवर्ती दूध सहकारीका अध्यक्ष राजन अर्यालले बताउनु भएको छ । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका व्यवस्थापक कुमारमणि दहालका अनुसार मकवानपुरमा ३१ सहकारी संस्थाले अनुदान पाएका र अनुदान सहकारीमा आबद्धलाई मात्रै वितरण भएको बताउनु भएको छ । विभागका अनुसार  कार्यविधि सहकारीका लागि भए पनि वितरण प्रणालीका लागि नबनाएको र सहकारीले आफूखुसी किसानलाई अनुदान वितरण गरेका जनाएको छ । कार्य्विधिअनुसार कम्तीमा दैनिक ३ सय लिटर र वार्षिक कम्तीमा दुई सय दिनसम्म दूधको कारोबार गर्ने गरेको, दैनिक संकलित दूध दुग्ध उत्पादक सहकारी संस्था आफैंले प्रशोधन गरी वा उद्योगलाई बिक्री गरी दूध र दुग्धजन्य पदार्थहरूको बेचबिखनको प्रबन्ध गरेको लगायत मापदण्डमा उल्लेख भए पनि सहकारीले किसानलाई कसरी वितरण गर्ने भने उल्लेख गरेका छैन । जसले गर्दा साना किसानहरू पीडित भएको जानकारहरू बताउँछन् ।
विभागका अनुसार  २२ जिल्लाका पकेट क्षेत्रमा अनुदान वितरण प्रभावकारी नहुँदा बन्द गरिएको कृषि मन्त्रालयका अधिकारीहरू बताउँछन । २०७३ र ७४ मा १ सय १२ सहकारीले अनुदान पाएका थिए भने २०७४ र ७५ मा १ सय ९९ सहकारीले अनुदान प्राप्त गरेका थिए । 

 

Comment