प्रदेश सरकार अन्तर्गत कृषि ज्ञान केन्द्रमार्फत काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा प्राप्त भएको बजेट खर्चको कार्यान्वयन मङ्गलबारदेखि शुरु

काठमाडौं ४ बैशाख । प्रदेश सरकार अन्तर्गत कृषि ज्ञान केन्द्रमार्फत काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा प्राप्त भएको बजेट खर्चको कार्यान्वयन बल्ल मङ्गलबारदेखि शुरु भएको छ । अर्को आर्थिक वर्ष शुरु हुन तीन महीना बाँकी रहँदा कृषि ज्ञान केन्द्रअन्तर्गतको कृषि कार्यक्रमको योजना मङ्गलबार सम्झौता भएको हो ।     
 प्रदेश सरकारबाट प्राप्त प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत पकेट र ब्लक गरी दुई प्रकारले बाली कार्यक्रम सम्झौता गरी कार्यान्वयनमा अगाडि बढेको केन्द्रका प्रमुख कृष्णबहादुर अधिकारीले बताउनु भएको छ । अधिकारीका अनुसार दुई जिल्ला हेर्ने गरी स्थापना भएको कार्यालय कात्तिकबाट खुलेको हो । त्यसरी कार्यालय खुलेको भए पनि समयमै कार्यक्रमका लागि निश्चित गरेर बजेट नपठाएका कारण ढिला हुन गएको अधिकारीको भनाइ छ । जसअन्तर्गत पहिलोपटक शुरु भएको कार्यक्रम कार्यान्वयन र परियोजनाअन्तर्गत पहिलादेखि सञ्चालन हुँदै आएको ३० पकेट र पछि थप भएको सात गरी ३७ पकेट कार्यक्रम र दुई ब्लकको लागि कार्यक्रम सम्झौता गरेको केन्द्रका प्रमुख अधिकारीले बताउनु भएको छ । त्यसअन्तर्गत पकेटमा तरकारी, मौरी, कफी, मकै र धान गरी विभिन्न थरिका बाली रहेको छ भने ब्लकमा पाँचखालमा तरकारी र नमोबुद्धमा मकै परेको अधिकारीको भनाइ छ । यसैबीच कृषि सडकका लागि काभ्रेपलाञ्चोकमा ११ र सिन्धुपाल्चोकमा नौ गरी १९ आयोजना परेकामा रु पाँच करोड ५३ लाख बजेट रहेको जनाएको छ । जसमा सानोमा रु नौ लाखदेखि ठूलोमा ३७ लाखसम्मको बजेट रहेको कार्यालय प्रमुख अधिकारीले बताउनु भएको छ । त्यससँगै पुष्पखेती गर्नका लागि परियोजना सञ्चालन हुने अधिकारीको भनाइ छ । त्यसका लागि पूँजीगतमा खर्च गर्ने गरी (खेतीमा प्रोत्साहन गर्नका लागि ग्रिनहाउस, टिपेको फूललाई सङ्कलन गर्ने, सिँचाइ र मेसिन गरी) बढीमा ७० प्रतिशत अनुदानको व्यवस्था गर्ने गरी कार्यक्रम आएको छ । त्यससँगै अर्गानिक खेती कार्यक्रमका लागि रु डेढ करोडको कार्यक्रम सूचना निकालेर निवेदन उपर छानबिन गरी टुङ्ग्याउन बाँकी रहेको छ । त्यस्तै उच्च मूल्य वस्तु कार्यक्रम अन्तर्गत कार्यक्रम रहेको र जसमा स्ट्रावेरी, अलैँची, किबी, एबोकाडो लगायतका छन् । नमोबुद्ध नगरपालिकाका किसान हरि तिमल्सिनाले समूहमार्फत रु १० लाखको कार्यक्रम सम्झौता गरेको बताउँनुभएको छ  । नमोबुद्ध नगरपालिकाको सबै वडा, पाँचखाल नगरपालिकाको ८ नं वडा र रोशी गाउँपालिकाको तीन वडालाई मिलाएर ब्लकको रुपमा स्थापना गरेको छ । सो परियोजनाअन्तर्गत दुई हजार रोपनीमा मकैखेती हुने र जसबाट करीब ५०० किसान लाभान्वित हुनेछन् । त्यस्तै रैथाने बाली विकास कार्यक्रम भनेर कम खेती हुने निश्चित र जात र भूगोलमा हुने कार्यक्रमअन्तर्गत कोदो, फापर, जौँ, चिनो, उवा, कावुनोलगायतका बाली विकासको कार्यक्रम हुने अधिकारीले बताउनु भएको छ  । त्यस्तै कृषि सडक, पुष्पखेती, अर्गा्निक खेती, रैथाने बाली विकासलगायतका सबै शीर्षकमा गरी फागुन मसान्तसम्ममा रु सात करोड ४१ लाख ५५ हजार ८९६ प्राप्त भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।( हलो खबर )

 

Comment