प्रदेश सरकारले कर्णालीलाई अर्गानिक प्रदेश बनाउने घोषणासगै किसान उत्साहित, नमुना गाउँ छनोट गर्नेदेखि विभिन्न ऐन नियम बनाउने कामलाई तीव्रता

काठमाडौं २४ चैत्र । प्रदेश सरकारले कर्णालीलाई अर्गानिक (प्रांगारिक) प्रदेश बनाउने घोषणा गरेपछि अहिले अर्गानिकको लहर चलेको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले नमुना गाउँ छनोट गर्नेदेखि विभिन्न ऐन नियम बनाउने कामलाई तीव्रता दिएको छ ।
सरकारी तथा गैरसरकारी क्षेत्रबाट समेत रैथाने बालीको संरक्षण र आयातित उत्पादनलाई रोक्न चेतनामूलक कार्यक्रम भइरहेका छन् । मन्त्रालयले अर्गानिक मोडल कृषि कार्यक्रम कार्यान्वयन कार्यविधि तयार गरेर कार्यान्वयनको प्रक्रिया अघि बढाएको जनाएको छ । कार्यविधिमा उल्लेख भएबमोजिम बिहीबारदेखि वीरेन्द्रनगरमा तीनदिने अर्गानिक कृषि मेला प्रदर्शनी आयोजना भएको छ । स्थानीय किसानले यसबाट उत्साहित भएको बताएका छन् । मेलामा कालो चामलको स्टल राखेका वीरेन्द्रनगर ८ खजुराका किसान मुरारी थापाले सरकारको यो कदम सकारात्मक भएको बताउनु भएको छ । थापाले मेलाले निकै उत्साह मिलेको र अब सरकारले आगामी दिनमा कार्यान्वयनको पाटोलाई ध्यान दिन आवश्यक रहेको बताउनु भएको छ । गर्मी समयमा अर्गानिक उत्पादन गर्न गाह्रो हुने भएकाले अर्गानिक औषधिहरू उत्पादमा सरकारले जोड दिएमा किसानलाई राहत हुने समेत थापाले बताउनु भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले अर्गानिक उत्पादनमा विश्वास बढाउन कृषि उपजको प्रदर्शनी राखिएको बताउनु भएको छ । मन्त्री केसीले सरोकारवाला विभिन्न पक्षसँग बसेर अर्गानिक प्रदेशको अवधारणालाई कसरी सफल बनाउन सकिन्छ भनेर छलफल गरिरहेको भन्दै सरकारको पहिलो प्राथमिकता अर्गानिक प्रदेश रहेको र अहिले तीव्रताका साथ काम अगाडि बढाइरहेको बताउनु भएको छ । प्रदेश सरकारले कर्णालीलाई अर्गानिक (प्रांगारिक) प्रदेश बनाउने घोषणा गरेपछि अहिले अर्गानिकको लहर चलेको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले नमुना गाउँ छनोट गर्नेदेखि विभिन्न ऐन नियम बनाउने कामलाई तीव्रता दिएको छ । (कान्तिपुर दैनिक)

 

Comment