रोकिएन भारतिय माछाको आयात

काठमाडौं २७ चैत्र । भारतीय माछा आयातमा रोक लगाइए पनि विराटनगर बजारमा भने छ्यापछ्याप्ती पाइने गरेको छ । झापा र मोरङका विभिन्न छोटी नाकाबाट दैनिक चार टनसम्म माछा भित्रने गरेको छ ।
यहाँको गुदरी बजारमा मात्रै दैनिक सरदर ५ टनसम्म माछाको किनबेच हुन्छ । त्यसमध्ये झन्डै ४ टन भारतीय माछाको खपत छ । थोक बिक्रेता मालबाबु सहनीका अनुसार स्थानीय उत्पादन सरदर दैनिक मुस्किलले एक टन उपलब्ध हुन्छ । सरकारले आयातमा रोक लगाए पनि भारतीय माछा भित्रिन नछाडेको सहनीको भनाइ छ । सहनीका अनुसार आयातमा रोक लगाएपछि थोक मूल्यमा प्रतिकेजी ४० देखि ५० रुपैयाँसम्म बढेको छ । विराटनगर बजारमा दैनिक कम्तीमा ५ टन माछाको आवश्यकता पर्ने सहनीको भनाइ छ । खुला बजारमा साताअघि प्रतिकेजी ३ सय ५० रुपैयाँमा पाइने माछा अहिले ७ सयसम्म पुगेको छ । प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत मोरङमा तीन वर्षको अवधिमा करिब ४ करोड रुपैयाँ किसानलाई माछा खेतीका लागि अनुदान दिइसकेको छ । परियोजनाले किसानलाई एक हेक्टरमा पोखरी खन्न ३ लाख रुपैयाँ अनुदान दिँदै आएको छ ।(कान्तिपुर दैनिक )

 

Comment