राष्ट्रिय महिला वन किसान सम्मेलन काठमाडौमा सुरु

काठमाडौ ६ पुस । ‘संविधानमा सम्पत्तिमाथिको अधिकार ः पारिवारिक निजी वन महिलाको समृद्घिको आधार’ भन्ने नाराका साथ दुई दिने राष्ट्रिय महिला वन किसान सम्मेलन काठमाडौंमा सुरु भएको छ । पारिवारिक निजी वन भएका महिलाको हक अधिकार स्थापित, क्षमता अभिवृद्धि र प्राकृतिक स्रोत व्यवस्थापनमा अब्बल बनाउनका लागि यो सम्मेलन गरिएको हो । 
पारिवारिक निजी वन संघ नेपालद्वारा आयोजित सम्मेलनमा गोरखा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, धनकुटा, संखुवासभा, सर्लाही, रौतहट, धनुषा, मकवानपुर, काभ्रे, बाँके, स्याङ्जा तथा चितवन, बझाङ, हुम्ला, दाङ, बर्दिया, कैलालीलगायतका ४५ जिल्लाबाट सहभागी भएका छन् । सम्मेलनमा प्रत्येक जिल्लाबाट दुईजना महिलाले प्रतिनिधित्व गरेका छन् ।  दुई दिनसम्म चल्ने सम्मेलनमा पारिवारिक निजी वन र महिलाका चुनौती विषयमा केन्द्रित भई ३ वटा कार्यपत्रमाथि छलफल गरिने छ । 
महिला राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले स्थानीय तहमा महिलाको वनमाथिको अधिकार सुनिश्चित गर्दै समृद्घिको बाटोमा लैजान पहल गर्ने बताएका छन । काठको ओसारपसार र बेचबिखन अब स्थानीय सरकारको सिफारिसको आधारमा पारिवारिक निजी वनको काठ उपयोग गर्न पाउने व्यवस्था निकट भविष्यमै लागू गर्ने कुराको खुलासा पनि गर्नुभयो । 
सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकले वनमा निर्भर महिला धेरै जोखिममा रहेको हुँदा उनीहरूको सुरक्षाको जिम्मा मुख्य चुनौतीको रूपमा रहेको बताइन् । महिलाहरू प्रत्यक्ष रूपमा वन संरक्षणमा संलग्न रहने हुँदा संघीय संरचनामा वन नीति महिलामैत्री हुनुपर्ने धारणा राखिन् । 
पारिवारिक निजी वन संघ नेपालका अध्यक्ष जोगराज गिरिले वनमा महिलाको भूमिका उल्लेखनीय रहे पनि महिलालाई यसको उपयोग र फाइदा लिनबाट वञ्चित गरिएकोे भनाइ थियो । 

 

Comment