सुन्तलाले बजार नपाउने भएपछि किसान चिन्तित

काठमाडौं २२ पुस । डोटी जिल्लामा अघिल्ला वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादन निकै बढेको छ । सुन्तला उत्पादन बढेकोमा खुशी भएका यहाँका ग्रामिण क्षेत्रका किसानहरु बजार नपाउने भएपछि चिन्तित बनेका छन् ।
सुन्तलाले बजार नपाउँदा चिन्तामा परेको निरौलीका कृषक हर्क साँउदले बताउनु भएको छ । करिब तीन रोपनी जमीनमा सुन्तला लगाए पनि बजारमा अझै पनि सुन्तलाको उचित मुल्य आइ नसकेको र आफूहरु बजारकै खोजीमा रहेको साँउदको भनाइ छ ।
बजार व्यवस्थापन र शीत भण्डारको अभावले यहाँका सुन्तला उत्पादक किसानहरु मर्कामा पर्ने गरेका छन् । विगतका बर्षमा यहाँका किसानका बारीमै सुन्तला किन्न आउने भएपनि यो बर्ष बढी सुन्तला उत्पादन भएकाले कोही नआएको गड्सेराका कृषक लिलाधर बिष्टले बताउनु भएको छ । जिल्लाको बोगटान, जोरायल, गड्सेरा, मन्नाकापडी, बर्छैन, कपल्लेकी, मुडभारालगायतका ठाउँमा सुन्तला खेती गरिन्छ ।

 

Comment