सुपर जोनमा देखापरेका समस्या समाधानका उपाय खोज्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं १८ पुस । प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाले सञ्चालन गरेका सुपर जोनमा देखापरेका समस्या समाधानका उपाय खोज्न कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले निर्देशन दिनुभएको छ । मंगलबार मन्त्रालयमा उक्त आयोजनासँग छलफलमा मन्त्री खनालले सुपर जोन सञ्चालनमा देखापरेका समस्या र समाधानको उपाय पहिचान गरी आगामी १५ दिनभित्रमा प्रतिवेदन बुझाउनसमेत निर्देशन दिनुभएको हो ।
मन्त्री खनालले १४ वटै सुपर जोनका प्रमुखसंग छलफल गरी सुपर जोन प्रमुखलाई अहिलेको अवस्था, भौगोलिक पृष्ठभूमि, जोन तथा सुपर जोन थप विस्तार गर्नु पर्ने वा नपर्ने लगायत विषयमा अध्ययन गरी प्रतिवेदन उपलब्ध गराउन सुपरजोनका प्रमुखलाई निर्देशन दिनुभएको हो ।
हाल कायम रहेका १४ वटा सुपर जोन सञ्चालन भएपछि र त्यसअघिको भिन्नता के रह्यो ? कुन कृषि उपज थप्ने र कुन हटाउने ? जोनको क्षेत्र निर्धारणमा वैज्ञानिक आधार कस्तो छ, बजेट पारदर्शीरूपमा खर्च भयो वा भएन लगायत विषयमा मन्त्री खनालले जिज्ञासा राख्नुभएको थियो । सुपर जोनका प्रमुखले सुपरजोनले अपेक्षाअनुसार प्रतिफल दिन नसकेको जानकारी गराएका थिए । साझा रुपमा कर्मचारी व्यवस्थापन, माग बढी, बजेट र क्षेत्रफल कम, सुपर जोन सञ्चालन भएका ठाउँमा अनुभवको कमी, कतिपय ठाउँमा सञ्चालक समितिको अनावश्यक हस्तक्षेप, फलफूलमा किराको प्रकोप लगायत कारण योजनाअनुसार अघि बढ्न नसकेको समस्या जोन प्रमुख औंल्याएका थिए ।
तेस्रो वर्षमा प्रवेश गरेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत धान, मकै, गहुँ, आलु, जुनार, सुन्तला, स्याउ र माछा गरी १४ वटा सुपर जोन र ६९ वटा जोन सञ्चालनमा छन् । सुपर जोनका लागि तीन अर्व २३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

 

Comment