स्वदेशी चिनी उद्मोगले उत्पादन गरेको चिनी नबिक्दा गोदाममा थन्कियो

काठमाडौं १६पुस । स्वदेशी चिनी उद्मोगले उत्पादन गरेको चिनी नबिक्दा गोदाममा थन्किएको छ । नेपाल सरकारले बाहिरी मुलुकबाट आयात हुने चिनीमा कडाइ गर्न नसक्दा स्वदेशका उद्योगमा उत्पादन हुने चिनी नबिकेर थन्किएको हो । 
सुनसरीको बर्जु गाउँपालिका–५ स्थित प्रदेश नम्बर–१ को एकमात्र इस्टर्न सुगर मिलबाट गएको वर्षमा उत्पादन भएको चिनीमध्ये ३४ हजार मेट्रिकटन चिनी गोदाममा थुप्रिएको छ । मिलमा एक लाख सात हजार मेट्रिकटन चिनी उत्पादन भएको थियो । 
नेपालमा एक वर्षमा सरदर दुई लाख ३५ हजार मेट्रिकटन चिनी आवश्यक पर्नेमा बाहिरी मुलकबाट दुई लाख ५० हजार मेट्रिकटन चिनी आयात भएका कारण मिलमा उत्पादन भएको चिनी बिक्री हुन नसकी बिग्रिने अवस्थामा पुगेको र यसबाट स्वदेशी उद्योग र कृषकलाई समस्या परेको मिलका वित्त प्रबन्धक वीएम गुुप्ताले जानकारी दिनुभएको छ ।
प्रत्येक वर्ष मिल सन्चालन हुनुभन्दाअघि नै उखु कृषक, उद्योगी, व्यापारीको सहमतिमा उखुको समर्थन मूल्य सरकारले तोक्नुपर्ने भएपनि यस वर्ष अहिलेसम्म उखुको मूल्य सरकारले निर्धारण नगरेको उखु उत्पादक संघका पूर्वअध्यक्ष शैलेन्द्रराज पाण्डेले बताउनु भएको छ ।
किसानले अहिले उखुको मूल्य प्रतिक्विन्टल रु ५४२ माग गरेका छन् । गएको वर्ष उखुको मूल्य सरकारले प्रतिक्विन्टल रु ५३१ निर्धारण गरेको थियो ।
चिनी मिल पुसको पहिलो सातादेखि दोस्रो सातासम्म चलिसक्नुपर्ने भएपनि यसवर्ष मूल्यकै कारण सन्चालन हुनसकेका छैनन् । किसानले पनि खेतमा उखु काट्न सुरु गरेका छैनन् । सुनसरी र मोरङमा अहिले दुई हजार २०० कृषकले पाँच हजार विगाहा जग्गामा उखु लगाएका छन् ।
इस्टर्न सुगर मिलका प्रबन्धक सुरेश मेहताले स्वदेशमा उत्पादन हुने चिनी र कृषकलाई बढावा दिन सरकारले बाहिरबाट चिनी आयातमा रोक लगाउनुपर्नेमा जोड दिनुभएको छ । सरकारले बाहिरबाट आउने सिमेन्टमा रोक लगाएकै कारण स्वदेशमा सिमेन्ट कारखाना फस्टाएकाले चिनी कारखानालाई पनि बढावा दिन सरकार गम्भीर हुनुपर्ने मेहताले बताउनु भएको छ ।
सुनसरी, अमाही बेलहाका उखु कृषक इस्राइल अन्सारीले दुःख र मिहिनेत गरेर उत्पादन गरेको उखुको उचित मूल्य नपाउँदा समस्या परेको र यसबाट कृषक पलायन हुने निश्चित रहेको बताए । (आजको इमेज खबरबाट)

 

Comment