सहकारी अभियानलाई उत्पादनसंग जोड्न प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह

काठमाडौं २० चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी अभियानमा जम्मा भएको श्रम तथा पुँजीलाई उत्पादनमूलक काममा लगाउन आग्रह गर्नुभएको छ । ६२ औं सहकारी दिवसको अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघले गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले कृषिको व्यवसायीकरण गर्न सहकारीलाई माध्यम बनाउनुपर्ने बताउनु भएको छ ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रविधिको प्रयोग गर्दै व्यावसायिक उत्पादन गर्नका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने बताउनु भएको थियो । कृषि आधुनिकीकरण कार्यक्रम सहकारीमार्फत सञ्चालन गरिने र हरेक जिल्लामा कृषि बजारसमेत स्थापना गर्न लागिएको जानकारी समेत दिनुभएको छ । प्रधानमन्त्री ओलीले अर्गानिक कृषि उत्पादनमा लाग्नसमेत सहकारीहरूलाई आग्रह गर्नुभएको छ ।
कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले पाँच वर्ष्भित्र सहकारीको संख्या ५० प्रतिशतले घटाउने बताउनु भएको छ । सहकारीको संख्या बढी हुँदा सुशासन कायम गर्न नसकिएको भन्दै त्यसका लागि नियमावलीमा व्यवस्था गरेर मर्जर अभियान सञ्चालन गर्ने अर्यालको भनाइ थियो । सहकारीलाई उद्योगमा लगेर गरिबी न्यूनीकरणका निम्ती प्रमुख कार्य गरिने भन्दै मन्त्री अर्यालले सातै प्रदेशका सबैभन्दा बढी गरिब भएका पालिकाहरूमा गरिब लक्षित कार्यक्रम सञ्चालन गरिने र एउटा पालिका एउटा सहकारीले जिम्मा दिने बताउनु भएको छ । 
नेपालमा सहकारी स्थापना भएको चैत २० गतेको सम्झनामा सरकार र सहकारी अभियानले संयुक्त रूपमा कार्यक्रम गरेका हुन् । ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ मूल नारासहित देशभर विभिन्न कार्यक्रम भइरहेका छन् । हालसम्म देशभर ३५ हजार ५१२ सहकारी संस्था दर्ता भएका छन् ।(कारोबार दैनिक)

 

Comment