सल्यानका किसान व्यावसायिक टिमुर खेतीतर्फ आकर्षित

काठमाडौं २२ पुस । राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय सल्यानका किसान व्यावसायिक टिमुर खेतीतर्फ आकर्षित हुँदै गएका छन् ।
सल्यानबाट यस वर्ष ४० करोड भन्दा बढीको टिमुर निकासी भएको छ । उत्पादित मध्ये अझै २० देखि ३० प्रतिशतसम्म निकासी हुन बाँकी रहेको डिभिजन वन कार्यालय सल्यानका नायब सुब्बा टोपेन्द्रबहादुर थापाले बताउनु भएको छ ।
 अहिलेको सिजनमा १ लाख ९८ हजार ९ सय ५० किलो टिमुर निकासी भइसकेको छ । राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय सल्यानका किसान व्यावसायिक टिमुर खेतीतर्फ आकर्षित हुँदै गएको थापाले बताउनु भएको छ ।
टिमुरको पकेट जिल्लाका रूपमा रहेको सल्यानका किसानले व्यक्तिगत र सामूहिक रूपमा टिमुर खेती गर्दै आएका छन् । एकपटक रोपेको टिमुरले धेरै वर्षसम्म फल दिने भएकाले डाँडापाखा र खोल्सामा खेती गरेर आम्दानीको स्रोत बढाउन सकिने भएकाले पनि किसानको आर्कषण बढिरहेको जडीबुटी व्यवसायी संघ जिल्ला शाखा सल्यानका महासचिव हरि न्यौपानेले बताउनु भएको छ ।
गत वर्षदेखि टिमुरले राम्रो मूल्य पाइरहेको न्यौपाने ले जानकारी दिनुभएको छ । गत वर्ष प्रतिक्विन्टको १ लाख सम्मको मूल्यमा बिक्री भए पनि यो वर्ष ७० देखि ७५ हजार रुपैयाँसम्म बिक्री हुँदै आएको छ । टिमुर मसला, दन्तमञ्जन र औषधिका रूपमा प्रयोग हुने गरेको छ । यहाँ उत्पादन भएको टिमुर फ्रान्स निर्यात हुने गरेको छ । टिमुर फ्रान्स निर्यात हुन थालेपछि सल्यानका किसानले भिरालो तथा बाँझो जमिनमा व्यावसायिक टिमुर खेती  सुरु गरेका हुन् । टिमुर खेतीबाट आम्दानी पनि राम्रो हुने र बजार पनि राम्रो पाउन थालेपछि यहाँका किसान टिमुर खेतीतर्फ आकर्षित भएका हुन् ।

 

Comment