तरकारीले बजार नपाउदा दुई रुपियाँमा बन्दा बेच्न बाध्य किसान , उचित मुल्य नपाउदा मर्कामा परेको गुनासो

काठमाडौं १४ जेष्ठ । पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाका कृषकले उत्पादन गरेको बन्दा र काउली लगायतका तरकारीले बजार नपाउँदा प्रतिकिलो दुई रुपियाँदेखि पाँच रुपियाँमा बेच्नुपरेको छ । ठूलो मिहिनेत गरेर लगाएको तरकारीले बजार नपाएपछि कृषक चिन्तित बनेका छन् । कतिपय किसानले दुई रुपियाँ किलो बेच्नुभन्दा बस्तुभाउलाई खुवाउन थालेका छन् । 
बराहताल गाउँपालिका–५, सुन्द्वारीका किसान दुर्गाप्रसाद पौडेललगायतले दुई रुपियाँ किलोमा काउली बेच्नुपर्दा मन अमिलो भएको बताउनु भएको छ । पौडेलले काउलीलगायतका तरकारी उत्पादन गरेर बिक्री गर्ने बेला मूल्य नपाउँदा किसान मारमा परेको दुःखेसोे व्यक्त गर्नुभएको छ । स्थानीय बजारमा प्रचलित मूल्यमा खरिद गर्न कुनै व्यवसायी तयार नभएपछि किसान सस्तो मूल्यमा व्यापारीले भनेकै दरमा बिक्री गर्न बाध्य छन् । बजारमा काउलीको खुद्रा मूल्य १५ देखि २५ रुपियाँ छ तर किसानले दुई रुपियाँ किलो बेच्न बाध्य भएका छन् । सुन्द्वारीमा अहिले ५० भन्दा धेरै घरधुरीले फलाएको तरकारीले बजार पाएको छैन । बजारमा जिल्लाबाहिरको तरकारी छ्याप्छ्याप्ती छ तर आफ्नै गाउँठाउँमा उत्पादन भएको तरकारी भने मूल्य नपाएर गाईबस्तुलाई खुवाउनु परेको गुनासो कृषकँले गरेका छन् । बराहताल गाउँपालिकाको बड्डीचौर बजारमा रहेको एकमात्र तरकारी सङ्कलन केन्द्रमा कृषकले उत्पादन गरेको तरकारीले मूल्य पाउन सकेको छैन । सानो बजार क्षेत्र र अनि बाहिरको तरकारीले बजार पाउने भएपछि व्यावसायिक रूपमा तरकारी उत्पादन गर्दैआएका किसानले उचित भाउ पाउन सकेको छैन । (गोरखापत्र दैनिक)

 

Comment