दुई करोड लगानीमा राप्ती नगरपालिका–४ को भवानीपुरमा पशु आहार उद्योग निर्माण गरिदै

काठमाडौं ८ बैशाख । पशुपालनका लागि आवश्यक आहार उत्पादन गर्न आहार उद्योग स्थापना गर्ने तयारी सुरु गरिएको छ । राप्ती नगरपालिका–४ को भवानीपुरमा पशु आहार उद्योग निर्माण गर्न लागिएको हो । दुग्ध उत्पादक सहकारी संस्थाले प्रदेश सरकार र स्थानीय सरकारसँगको साझेदारीमा उद्योग स्थापनाको काम अघि बढाएको छ ।
प्रदेश ३ सरकार, राप्ती नगरपालिका र राप्ती नगरपालिका क्षेत्रभित्र रहेको दुग्ध उत्पादक सहकारी संस्थाको साझेदारीमा आहार उद्योग स्थापना गर्न लागिएको हो। एक करोड ९० लाख २८ हजार रुपैयाँ लागतमा पशु आहार उद्योग स्थापना गर्न लागिएको भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष डिल्लीप्रसाद थपलिया बताउँनु भएको छ । उद्योग स्थापनाका लागि प्रदेश सरकारले ९० लाख रुपैयाँ सहयोग गरेको छ। राप्ती नगरपालिकाले ३६ लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ। नगर क्षेत्रमा रहेका ६ वटा दुग्ध उत्पादक सहकारीले उद्योगका लागि ६४ लाख २८ हजार रुपैयाँ जुटाएका छन्। राप्ती नगरपालिकामा भण्डारा दुग्ध उत्पादक, सहिद वलराम दुग्ध उत्पादक, परेवाश्वरी दुग्ध उत्पादक, जनमुखी बहुउदेश्यीय दुग्ध उत्पादक, नवउद्यमी दुग्ध उत्पादक र भगवती दुग्ध उत्पादक सहकारी संस्था रहेको थपलियाले बताउनु भएको छ । पशु आहार उद्योगका लागि पूर्वाधार तयार गर्न शिलान्यास गरिएको छ। प्रदेश ३ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उद्योग स्थापनाले पशुपालनलाई टेवा पुग्ने जानकारी दिनुभएको छ । उद्योग सञ्चालनमा आएपछि पशुपालनमा लागेका किसानलाई सजिलोसँग न्यूनतम मूल्यमा आवश्यक आहार उपलब्ध हुने लामाले बताउनु भएको छ । प्रदेशस्तरीय कृषि, पशुपक्षी र माछापालनका लागि तालिम केन्द्रसमेत प्रदेश सरकारले राप्ती नगरपालिकामा निर्माण गर्न लागेको मन्त्री लामा बताउँनु भएको छ । यस्ता कार्यक्रमले कृषि र पशुपालन क्षेत्रमा समृद्धि आउने लामाको भनाइ छ। पशु आहार उद्योग स्थापना भएपछि किसानलाई दाना समयमा नपाउने र गुणस्तरहीन आहार पशुलाई खुवाउनुपर्ने समस्या समाधान हुने राप्ती नगरपालिकाकी मेयर प्रभा बरालले बताउँनु भएको छ । किसानले दूधको उचित मूल्य नपाउने र आहारका लागि बढी रकम खर्च गर्नुपर्ने बाध्यता पनि हट्ने बरालले बताउनु भएको छ ।
राप्ती नगरपालिका क्षेत्रमा दैनिक करिब ३० हजार लिटर दूध उत्पादन हुने गरेको छ। दूध उत्पादन गरेअनुसार किसानले उचित मूल्य भने पाउन नसकेको केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सदस्य बालकृष्ण उप्रेती बताउँनु भएको छ । किसान नै सहभागी भएको दुग्ध उत्पादक सहकारीको संलग्नतामा आहार उद्योग स्थापना भएपछि गुणस्तरहीन दाना खुवाउनुपर्ने किसानको बाध्यता हट्ने उप्रेतीले बताउनु भएको छ ।(नागरिक दैनिक)

 

Comment