उखु क्रसिङको समय नसकिँदै सुनवलस्थित लुम्बिनी चिनी मिल बन्द, उखु काटेर नसकिँदै उखु मिल बन्द हुदा किसान मर्कामा

काठमाडौं २० चैत्र । उखु क्रसिङको समय नसकिँदै पश्चिम नवलपरासीको सुनवलस्थित लुम्बिनी चिनी मिल बन्द भएको छ । तीन महिना ढिला सञ्चालनमा आएको मिल उखु काटेर नसकिँदै बन्द भएपछि किसान मर्कामा परेका छन् । मिलले चैत १७ देखि उखु खरिद बन्द गरिएको सूचना टाँसेको छ । ऊक्त सूचनामा त्रसिङ सिजन सकिएकाले बन्द गरिएको उल्लेख छ ।
किसानले अहिले पनि बिक्रीका लागि धमाधम उखु ल्याइरहेका छन् । मिलको गेट अगाडि तौलका लागि किसानहरू कुरेर बसेका छन् । मिल व्यवस्थापनले यस वर्ष उद्योग नचलाउने निर्णय गरेको थियो । सञ्चालनका लागि जिल्लामा चौतर्फी दबाब परे सगै केही समयका लागि सञ्चालन गरेर बन्द गरेको जनाएको हो । जिल्लामा वाग्मती खाडसारी चिनी, इन्दिरा सुगर मिल र लुम्बिनी चिनी गरी तीनवटा ठूला कारखाना सञ्चालनमा छन् । यस वर्ष कारखाना ढिलो सञ्चालन गरिएका थिए । खेतमा अझै ३० प्रतिशत उखु काट्न बाँकी रहेको उखु उत्पादक कृषक समिति नवलरासीले जनाएको छ ।
उखु सुक्न र बगानमा फुल्न थालेपछि जिल्लाका दक्षिणी भेकका किसानको बेहाल भएको छ । गत वर्षमा उधारोमा भए पनि समयमा काटेर उद्योगलाई बिक्री गरेका थिए । पेस्कीबापतको रकमले घर खर्च धान्ने गरेपनि अहिले खेतमा आगो लगाएर उखु नष्ट गर्नुपर्ने अवस्था आएको किसानले बताएका  छन् । (कान्तिपुर दैनिक)

 

Comment