उखु किसानलाई तत्काल अनुदान दिन प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीको माग

काठमाडौं १० बैशाख । प्रतिनिधिसभाका सदस्य हृदयेश त्रिपाठीले उखु किसानलाई तत्काल अनुदान दिन माग गर्नुभएको छ  । रिपोर्टर्स क्लबमा आयोजत कार्यक्रममा सांसद त्रिपाठीले सरकारको अकर्मण्यता र चिनी मालिकहरूको उदण्डताका कारण उखु किसान ठूलो मारमा परेको बताउनु भएको हो । सरकारले ७० प्रतिशत र चिनी मिल सञ्चालकले ३० प्रतिशत अनुदान दिनुपर्ने त्रीपाठीको भनाई छ ।
सांसद त्रिपाठीले चिनी मिलहरू डेढ महिना ढिलो चलेको र अहिले केही मिल बन्द भएको बताउनु भएको छ । यसको प्रत्यक्ष असर उखु किसानलाई परेको भन्दै किसानलाई अनुदान दिएर सहयोग गर्नुपर्ने त्रीपाठीले जानकारी दिनुभएको छ । सरकारको अकर्मण्यताका कारण उखु किसानले खेतमै उखुमा आगो लगाउनुपर्ने अवस्था सिर्जना भएको भन्दै चिनी मिल सञ्चालकहरूले डेढ महिना ढिलो मिल सञ्चालन गर्दा पनि सरकार मुकदर्शक भएर बसेको र मिल सञ्चालकमाथि कुनै हस्तक्षेप गर्न नसकेको बताउनु भएको छ । त्रीपाठीले किसानलाई समयमै भुक्तानी नदिने र चिनीको भाउ मनोमानी ढंगले वृद्धि गर्ने काम हुँदा पनि सरकारले केही गर्न नसकेको  भन्दै आक्रोश पोख्नुभएको छ । यस्तो अवस्थामा अब किसानको खेतमा बाँकी रहेको उखु हेरेर ७० प्रतिशत अनुदान सरकारले दिनुपर्ने र ढिलो मिल चलाएका कारण मिल सञ्चालकले पनि ३० प्रतिशत अनुदान दिनुपर्ने भन्दै नयाँ बजेट बन्ने प्रक्रियामा रहेको र यो माग बजेट बन्नुपुर्व नै व्यवस्थापन गरिसक्नुपर्नेमा जोड दिनुपर्ने उहाँको भनाई छ ।(अन्नपुर्ण दैनिक)

 

Comment