उखु मिलबाट पाउनुपर्ने रकम किसानले अझै पाएनन्

काठमाडौं ८ पुस । उखु मिलबाट पाउनुपर्ने बाँकी रकम किसानले अझै पाउन सकेका छैनन् । सरकारले दिने अनुदान रकम पनि उखु किसानले पाउन सकेका छैनन् । उखु मिलले लामो समयदेखि किसानलाई भुक्तानी गर्नुपर्ने २ अर्ब रुपैयाँमध्ये केही भुक्तानी भए पनि बाँकी रकम हालसम्म भुक्तानी नपाएको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताउनु भएको छ । १३ वटा उखु मिलमध्येमा सबैभन्दा धेरै भुक्तानी गर्न बाँकी सर्लाहीमा रहेको अन्नपूर्ण सुगर रहेको मैनालीको भनाइ छ । ४ वैशाख २०७५ मा सरकारले प्रतिक्विन्टल उखुको न्यूनतम समर्थन मूल्य ५ सय ३६ रुपैयाँ ५६ पैसा निर्धारण गरेको छ । १३ वटा उखु मिलले भुक्तानी नगरेको मैनालीले बताउनु भएको छ ।
मैनालीका अनुसार अन्नपूर्ण सुगर मिलको ३२ करोड रुपैयाँ रहेको छ । अन्य १२ वटा मिलको ५ रुपैयाँ २८ पैसाका दरले किसानलाई भुक्तानी गर्न करिब ५÷ ६ करोड रुपैयाँ बाँकी रहेको छ ।
उक्त रकमका लागि पटक–पटक चिनी उद्योगी र सरकारसँग आग्रह गर्दा पनि सरकारले नै किसानलाई बेवास्ता गरेको मैनालीको भनाइ छ । ‘किसानको अभिभावक भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नै किसानको अधिकारलाई बेवास्ता गरेको  मैनाली को भनाई छ ।’ किसानमा आएका समस्यालाई समाधान गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालय अघि बढ्नुपर्नेमा उसले किसानलाई बेवास्ता गर्दै आएको छ । किसान उखु मिलबाट समयमा पैसा भुक्तानी नपाउँदा मर्कामा पर्दै आएका छन् । गत २२ असोजमा अर्थमन्त्री डा. युवराज खतिवडा, कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल, उद्योग तथा आपूर्तिमन्त्री मातृका यादव, वन तथा वातावरण शक्ति बस्नेत, सामान्य प्रशासनमन्त्री पण्डित र सम्बन्धित मन्त्रालयका सचिवबीच छलफल गरी पाँच दिनभित्र किसानको रकम भुक्तानी गर्न उद्योगीलाई निर्देशन दिइएको थियो । सो मन्त्रीलयको छलफलमा पाँच दिनभित्र उखु किसानको रकम भुक्तानी नगर्ने उद्योगीलाई कारबाही गर्ने निर्णयसमेत भएको थियो ।
मैनालीले भने, ‘सरकारको उक्त निर्णय पछि केही उखु मिलले बाँकी भुक्तानी दिन सुरु गरेका थिए ।’ त्यो समयमा धेरै मिलले बाँकी भुक्तानी दिन सुरु गरे पनि अन्नपूर्ण सुगरले अटेर गर्दै आएको थियो । सरकारको उक्त निर्णयअनुसार किसानलाई बाँकी भुक्तानी गरेको भन्दै अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाललाई महानगरीय प्रहरी परिसर टेकुले गत कात्तिकमा पक्राउसमेत गरेको थियो । अग्रवाललाई प्रहरीले पक्राउ गरेपछि केही उखु किसानलाई भुक्तानी गरे पनि अझै ३२ करोड भुक्तानी गर्ने बाँकी नै रहेको मैनालीले बताए । अग्रवाल इन्दिरा सुगर एन्ड एग्रो र अन्नपूर्ण सुगर मिलका सञ्चालक हुन् । प्रहरीले पक्राउ पर्दा अग्रवालले कम्पनी इन्दिरा सुगर एन्ड एग्रो प्रालिको ८ करोड ५८ लाख ९९ हजार ४८१ बक्यौता रहेको थियो भने अन्नपूर्ण सुगर मिल्स सर्लाहीको ३८ करोड ६८ लाख बक्यौता रहेको थियो ।(आजको राजधानीमा खबर छ )

 

Comment