वैशाखबाट नेपाल खाद्य संस्थानले विभिन्न जिल्लाबाट १८ हजार क्विन्टल गहुँ खरिद गर्ने

नेपाल खाद्य संस्थानले आगामी वैशाखमा विभिन्न जिल्लाबाट १८ हजार क्विन्टल गहुँ खरिद गर्ने भएको छ । आम उपभोक्तालाई सस्तो र सुलभ मूल्यमा  उपलब्ध गराउने उद्देश्यले  कञ्चनपुर कैलाली, बर्दिया, बाँके, बर्दिया, रूपन्देही, पर्सा, सिराहा, झापाबाट सो परीमाणमा गहुँ खरिद गर्न लागेको हो।
संस्थानका प्रवक्ता शकर सापकोटाले सम्बन्धित जिल्लास्थित प्राथमिक खरिद समितिले गहुँको समर्थन मूल्य निर्धारण गरेपछि वैशाख पहिलो वा दोस्रो साताबाट खरिद प्रक्रिया शुरु हुने बताउनु भएको छ । संस्थानले गत वर्ष १ हजार २ सय ६३ मेट्रिक टन गहुँ खरिद गरेको थियो, भने उत्पादन १ लाख १५ हजार मेट्रिक टन भएको जानकारी दिएको छ । 
समितिको अध्यक्ष सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी हुन्छन् । सदस्यमा कृषि कार्यालय प्रमुख, कृषि कार्यालयले तोकेको कृषक र सम्बन्धित जिल्लाका संस्थान प्रमुख सदस्य सचिव हुन्छन्। टोलीले स्थानीय उत्पादन, बजार मूल्य र सीमावर्ती मूल्य विश्लेषण गरेर उचित मूल्य तोक्ने छ । सापकोटाले उपभोक्ताको सुविधालाई मध्यनजर गर्दै पछिल्लो २ वर्षयता  पिठो बनाएर समेत बिक्री गर्न शुरु गरिएको र ‘खरिद गरिएको गहुँ अभाव भएको स्थानमा आपूर्ति र पिठो बनाएर बिक्री गरिने समेत जानकारी दिनुभएको छ । २० वर्ष पछि २०७१ बाट खाद्य संस्थान गहुँ किन्न शुरु गरेको हो ।  गहुँ अथवा पिठो भोकमरी बढी हुने सुदूरपश्चिम प्रदेशको बझाङ, बाजुरा, अछाम, बैतडी, दार्चुला तथा कर्णाली प्रदेशको सुर्खेतमार्फ्त हुम्ला, मुगुमा बिक्री गरिने संस्थानले जनाएको छ। 

 

Comment