हेटौंडामा करिब १ अर्ब लागतमा धूलो दूध उत्पादन गर्ने प्लान्ट निर्माण हुदै

काठमाडौं १७ माघ । दुग्ध विकास संस्थानको हेटौंडास्थित हेटौंडा दुग्ध वितरण आयोजनामा करिब १ अर्ब लागतमा धूलो दूध उत्पादन गर्ने प्लान्ट निर्माणका लागि डीपीआर बनाउने भएको छ । 
प्रदेश ३ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दुग्ध विकास संस्थानको दुग्ध विकास आयोजना मकवानपुरको परिसरमा पाउडर प्लान्ट सञ्चालन गर्न चालु आर्थिक वर्षमा पाउडर प्लान्टको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिने मन्त्रालयका सूचना अधिकृत निर्मल गदालले बताउनु भएको छ । प्लान्टको क्षमता ६० हजार लिटर दूध हुनेछ । प्रदेश सरकार, स्थानीय सरकार, सहकारी, निजी क्षेत्र, उद्योग वाणिज्य संघ र केन्द्र सरकारको पनि साझेदारीमा पाउडर प्लान्ट सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ । मिल्क होलिडेलाई हटाउन पनि पाउडर प्लान्ट आवश्यक रहेको मन्त्रालयका सहकारी शाखा प्रमुख नारायणप्रसाद ज्ञवालीले बताउनु भएको हो । दूधको उत्पादन बढाउने र व्यावसायिक पशुपालनलाई जोड दिन पाउडर प्लान्ट स्थापना जरुरी भएको केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले बताउनु भएको छ।  नेपालमा दैनिक ८ लाख लिटर दूध सहकारीमार्फत संकलन भईरहदा किसानले उत्पादन गरेको दूधको बजार सुनिश्चित सरकारले गर्नुपर्ने देवकोटाको भनाइ छ । हेटौंडामा निर्माण गरिने पाउडर प्लान्टमा महोत्तरी, सर्लाही, रौतहट, पर्सा, चितवन, नवलपरासी, बारालगायत जिल्लाहरूबाट दूध ल्याउन सकिने देवकोटाले बताउनु भएको छ । चितवनको दैनिक तीन लाख लिटर दूध सहकारीमार्फत बिक्रीभइरहेको छ । प्रदेशमा मिल्किङ पार्लर र एनालाइजर प्रदेश ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मिल्किङ पार्लर र मिल्क एनालाइजर स्थापना र सञ्चालन गर्ने भएको छ । पशुवस्तुबाट सुरक्षित र स्वस्थकर तरिकाबाट दूध दुहुनमिल्किङ पार्लर स्थापना गर्न लागिएको अधिकृत गदालले बताउनु भएको छ । प्रदेशको दुई स्थानमा मिल्किङ पार्लर स्थापना गर्न छ वटा मिल्किङ मेसिन खरिदका लागि प्रस्ताव आहवान गरिएको छ । प्रदेशका १३ वटै जिल्लाले आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ । मेसिनरी र पूर्वाधार निर्माणमा ५० प्रतिशत वा बढीमा २० लाख रुपैयाँ प्रतिसाझेदारमा अनुदान दिएर कार्यक्रम सञ्चालन गरिने मन्त्रालयको तयारी रहेको छ ।
मिल्किङ मेसिन खरिदमा ५० प्रतिशत वा बढीमा १० लाख रुपैयाँ प्रतिसाझेदार अनुदानमा कार्यक्रम सञ्चालन हुने भएको छ । मिल्क एनालाइजर वितरण, प्रभावकारिता मूल्यांकन र प्रतिवेदनका लागि प्रतिसाझेदार तीन लाख रुपैयाँ अनुदानको व्यवस्था छ । प्रदेश ३ का २० वटा स्थानमा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको देखिएको छ । यी दुवै कार्यक्रमका लागि ३०र३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले मिल्किङ पार्लर स्थापना र सञ्चालन, मिल्क एनालाइजर वितरण र दूध उत्पादनमा अनुदान कार्यक्रम गर्नेभएको छ ।(कान्तिपुर दैनिक)

 

Comment