कर्णाली प्रदेशमै पहिलो चिस्यान भण्डार निर्माण

काठमाडौं ३ माघ । स्थानीय कृषि उत्पादनलाई  लक्षित गर्दै कर्णाली प्रदेशमै पहिलो चिस्यान भण्डार निर्माण थालिएको छ । सुर्खेतको छिन्चुमा २ करोड रुपैयाँको लागतमा चिस्यान केन्द्र निर्माण हुने भएको छ । 
उक्त चिस्यान केन्द्रको बुधबार एक कार्यक्रम बीच भेरीगंगा नगरपालिकाका प्रमुख भुपेन्द्र बहादुर चन्दले शिलान्यास गर्नुभएको हो । २ करोड ९ लाख ५३ हजार ६ सय २३ रुपैयाँ लागतमा बन्न लागेको चिस्यान केन्द्रबाट कर्णाली प्रदेशको धेरैजसो जिल्लाहरूका किसानहरू लाभान्विन हुने जनाइएको छ ।
भेरीगंगा नगरपालिका–१२ मा रहेको नारी जागरण बहुउद्देश्यीय कृषि समूहको पहलमा उक्त आयोजना निर्माण गर्न लागिएको हा े। चिस्यान केन्द्र निर्माणपछि सुर्खेत लगायत कर्णाली प्रदेशका विभिन्न जिल्लामा उत्पादन हुने, तरकारी फलफूल, तरकारीको बिउहरू राख्न सकिने छ । २०० मेट्रिक टन क्षमताको उक्त केन्द्रमा ५० मेट्रिक टन तरकारी, ५० मेट्रिक टन फलफूल तथा १०० मेट्रिक टन आलुको बिउ राखिने नारी जागरण बहुउद्देश्यीय कृषि समुहका अध्यक्ष लक्ष्मी पौडेलले बताउनु भएको छ ।
चिस्यान केन्द्र निर्माणका लागि साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना (रिजम)बाट ५८ लाख ५० हजार, भेरीगंगा नगरपालिकाबाट ६५ लाख, नारी जागरण बहुउद्देश्यीय कृषि समुहबाट ४१ लाख, कर्णाली प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट १५ लाख र गुर्भाकोट नगरपालिकाबाट ५ लाख रुपैयाँ सहयोग प्राप्त भएको पौडेलले जानकारी दिनुभएको छ ।
चिस्यान केन्द्र २०७६ वैशाखभित्र निर्माण भैसक्ने अध्यक्ष पौडेलले जानकारी दिनुभएको छ । हाल यो क्षेत्रमा चिस्यान केन्द्र नहुँदा यस क्षेत्रका कृषकहरूले आफूले उत्पादन गरेका वस्तु कोहलपुरस्थित चिस्यान केन्द्रमा लिने गरेका छन् । छिन्चुमा बन्ने चिस्यान केन्द्र सञ्चालन भएपछि यो समस्या हट्ने पौडेलले बताउनु भएको छ ।( सेतोपाटी)

 

Comment