खाद्यान्न परीक्षण गर्न आधुनिक उपकरणसहितको प्रयोगशाला स्थापनाको काम अन्तिम चरणमा

काठमाडौ २१ चैत्र । खाद्यान्न परीक्षण गर्न आधुनिक उपकरणसहितको प्रयोगशाला स्थापनाको काम अन्तिम चरणमा पुगेको छ। प्रयोगशालामा अहिले उपकरण जडानलगायतका काम हुन बाँकी रहेको नेपाल खाद्य संस्थानले जानकारी दिएको छ।
खाद्य संस्थानको भद्रकालीस्थित केन्द्रीय कार्यालयमा ३ तले भवनमा उक्त प्रयोगशाला स्थापना भएको हो। भारतको आर्थिक सहयोग तथा जिल्ला विकास समिति काठमाडौं र संस्थानको समन्वयमा प्रयोगशाला निर्माण भएको हो। प्रयोगशालामा उपकरण जडान गर्न बाँकी रहेको संस्थानका प्रवक्ता शङ्कर सापकोटाले जानकारी दिनुभएको छ । सापकोटाले भारतको सहयोगमा आधुनिक मेसिन भित्रिसकेको र अहिले पनि खाद्यान्नको गुणस्तर जाँचिरहेको बताउनु भएको छ । प्रयोगशालामा केही पूर्वाधार तयार गरेर व्यवस्थित तरिकाले उपकरण जडान गर्न बाँकी छ। सापकोटाका अनुसार प्रयोगशालामा उपकरण जडान कार्य जेठसम्ममा सकिने छ। प्रयोगशालामा दलहन, चामल, तेल लगायतका विभिन्न प्रकारका खाद्यान्नको जैविक, भौतिक तथा रासायनिक जाँच गरिने छ। संस्थानका अनुसार प्रयोगशालाको अनुमानित कुल लागत ५ करोड हो। भवन निर्माणको निम्ति जग्गाको व्यवस्था संस्थानले, भवन निर्माण गर्न साढे दुई करोड जिल्ला विकासले र साढे दुई करोड भारतले सहयोग गरेको छ । अहिले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मात्र खाद्य वस्तुको गुणस्तर जाँच्ने अख्तियारी पाएको छ। संस्थानले प्रयोगशाला सञ्चालनमा ल्याउने अनुमति पाए पनि वस्तु अनुगमन गर्ने, गुणस्तर तथा मापदण्ड निर्धारण गर्ने अनुमति पाएको छैन। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग समन्वय गरेर खाद्य परीक्षण गरे संस्थानले जाँचेको खाद्यान्नको गुणस्तरले मान्यता पाउने आपुर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिनुभएको छ । ढकालले ‘कुनै पनि संस्थानलाई प्रयोगशाला सञ्चालन गर्ने अनुमति हुन्छ तर गुणस्तर जाँचको मान्यता नहुने भएपनि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालाले अन्तर्रा्ष्ट्रिय मान्यता पाएको जानकारी दिनुभएको छ खाद्य पदार्थमा हुने विभिन्न प्रकारका विषादी, रासायनिक पदार्थको अध्ययन अनुगमनका साथै खाद्यान्न मिसावट, खाद्य स्वच्छता र गुणस्तर सम्बन्धि अध्ययन गर्न यस प्रयोगशालाले सहयोग पुग्ने संस्थानको दावी छ। आफ्नै प्रयोगशालामा खाद्यान्न परीक्षण गर्दा समय र खर्चको व्यवस्थापन हुनेछ। संस्थानका अनुसार सो प्रयोगशालामा खाद्य संस्थानमा भएका खाद्य वस्तुका साथै बाहिरबाट सर्वसाधारणले परीक्षण गर्न ल्याएको खण्डमा पनि शुल्क तिरेर परीक्षण गराउन सकिने छ । (सेतोपाटी)

 

Comment