रूपन्देहीमा शुरु गरिएको ‘किसान कल सेन्टर’ बन्द

काठमाडौं १७  पुस । रूपन्देहीमा शुरु गरिएको ‘किसान कल सेन्टर’ बन्द भएको छ । कृषि विकास मन्त्रालय अन्तर्गत रहेको जलवायु प्रकोप समुत्थान निर्माण आयोजना, कृषि व्यवस्थापन सूचना प्रणाली काठमाडौँको समन्वयमा देशभरका तत्कालीन जिल्ला कृषि विकास कार्यालयमा किसान कल सेन्टर स्थापना भएको थियो । 
फोन गर्दा पैसा नलाग्ने फोनमार्फत नै किसानले आफूले चाहेको जिज्ञासा प्राप्त गर्नसकिने गरी ल्याएको योजना करिब तीन वर्षमै तुुहिएको छ । हाल जिल्ला कृषि विकास कार्यालय प्रदेश मातहतमा परिणत भई किसान ज्ञान केन्द्र भएका छन् तर कतिपय जिल्लामा त किसान ज्ञान केन्द्र नै छैनन् । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्थापना भएका छन् । यी सबैमा अहिले किसान कल सेन्टर कार्यान्वयनमा छैन । 
किसान कल सेन्टर कार्यान्वयनमा आएको अवस्थामा किसानहरूले कल आएको भनेर फेक रिपोर्ट बनाएर पेस गर्ने तत्कालीन जिल्ला कृषि विकास कार्यालयका कर्मचारीहरू अहिले भने प्रदेश मातहतमा गएपछि किसान कल सेन्टर नै नभएकाले दङ्ग छन् । 
किसानको आवाज रेकर्डिङसहित किसानले चाहेको समयमा जिज्ञासाको समाधान गर्न एकजना कृषि अधिकृत, एकजना प्राविधिक सहायकको व्यवस्था गरिएको थियो । जसमा एकजना तत्कालीन जिल्ला कृषि विकास कार्यालयले करारमा लिएर राख्न सक्ने व्यवस्था थियो । 
पछिल्लो समयमा संरचना परिर्वतनसँगै जिल्ला कृषि विकास कार्यालय खारेज भएसँगै विश्व बैङ्कको सहयोगमा सञ्चालनमा आएका सबै जिल्लाका किसान कल सेन्टर अहिले बन्द भएका हुन् । घरमा नै बसीबसी फोन गर्दा पैसा नलाग्ने तत्कालीन जिल्ला कृषि विकास कार्यालय रूपन्देहीले व्यवस्थापन गरेको टोल फ्रि नम्बर’ १६६००७१५२००० नम्बर अहिले बन्द छ । अहिले उक्त नम्बरमा फोन लगाउँदा ‘नम्बर मिलेन’ भनेर सन्देश प्राप्त हुन्छ । 
रूपन्देहीको यो एउटा उदाहरण मात्रै हो । जिल्ला जिल्लामा स्थापना भएका सबै किसान कल सेन्टर बन्द भएका हुन् । रूपन्देहीमा पनि केही वर्षअघि नेपाल सरकार कृषि मन्त्रालयका कृषि सचिव उत्तमकुमार भट्टराईले किसान कल सेन्टरको उद्घाटन गर्नुभएको थियो । किसान कल सेन्टर, हाम्रो कृषि मोबाइल एप, कृषि मौसम सल्लाह सेवा बुलेटिन तथा एसएमएस सेवा जिल्ला कृषि विकास कार्यालयले प्रदान गर्दै आएकोमा अहिले ती सेवा अन्योलमा छन् । 
काठमाडौँमा पनि कृषि मन्त्रालयले पैसा नलाग्ने फोन नं.१६६००१९५००० नम्बरको फोन किसान कल सेन्टरको रूपमा ल्याएको थियो । सोहीअनुसार जिल्ला जिल्लामा किसान कल सेन्टर विस्तार भएका थिए । किसान र कृषि व्यवसायीका बाली, पशुवस्तुका समस्यालाई आधुनिक सञ्चारमाध्यमको प्रयोगमार्फत विज्ञबाट समाधान गर्ने, सूचना प्रवाहमा भौगोलिक विकटताले पारेको असरलाई न्यूनीकरण गरी न्यायपूर्ण सेवा प्रवाह प्रणाली स्थापना गर्ने उद्देश्यका साथ किसान कल सेन्टर सञ्चालनमा ल्याइएको थियो । 
व्यावसायिक कृषि उत्पादन, बजारीकरण र रोगको विषयमा आउने समस्याको समाधान गर्ने उद्देश्यसहित यो ल्याइएको थियो । जसमा अवकाशप्राप्त कृषि प्राविधिक, विश्वविद्यालयका विज्ञ एवं अनुसन्धानकर्ताको ज्ञान र सीपलाई किसानसमक्ष पु¥याउन कृषि विकास मन्त्रालयले किसान ‘कल सेन्टर’लाई प्रयोगमा ल्याएको थियो । 
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ सचिव यमनारायण देवकोटाले तत्कालीन जिल्ला कृषि विकास कार्यालय रहेको स्थानमा कतै कुनै विभाग त कतै जोन कार्यालय बसेको कारण अहिले नै तत्काल सञ्चालन गर्न नसकिने बताउनुभयो । उहाँले कार्य्विधि बनाएर कृषि ज्ञान केन्द्रमार्फत सञ्चालन गर्न सकिने बताउनुभयो ।(आजको गोरखापत्रमा खबर छ)

 

Comment