सूर्योदय नगरपालिकामा ‘चिया परीक्षण केन्द्र’ निर्माण हुने

काठमाडौ १३ असार । चिया किसानले लामो समयदेखि उठाउँदै आएको ‘चिया परीक्षण केन्द्र’ निर्माणको माग अब पूरा हुने भएको छ । मुलुकमै पहिलो पटक चियाको गुणस्तर सुधार गर्न यहाँको सूर्योदय नगरपालिकामा ‘चिया परीक्षण केन्द्र’ निर्माण हुने भएको हो । 
दुई वर्ष्भित्र सम्पन्न हुने केन्द्रको बहुतले भवन निर्माणका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । सो कार्यमा साझेदारी गर्न आवश्यक बजेट विनियोजन गर्ने सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले बताउनु भएको छ । २६ करोड रुपैयाँको लागतमा निर्माण हुने केन्द्रको भवनका लागि प्रदेश सरकारको ८० र नगरपालिकाको २० प्रतिशत साझेदारी हुनेछ । परीक्षण केन्द्र निर्माण भएपछि इलामको अर्थोडक्स चियाको बजार प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने विश्वास चियाको किसानको छ । परीक्षण केन्द्रको विस्तृत परियोजना प्रतिवेदन र डिजाइन स्टिमेट तयार भइसकेकाले निर्धा्रित मितिभित्र नै निर्माण सकिने नगरप्रमुख राईले बताउनु भएको छ । निर्माण हुन लागेको चिया परीक्षण भवनमा चियाको प्राङ्गारिक परीक्षणसमेत गरिने जनाइएको छ । धेरै झञ्झट गरेर ठूलो मूल्यमा विदेश लगेर चियाको प्राङ्गारिक परीक्षण गर्ने काम पनि यो भवन निर्माणपछि अन्त्य हुने भएको छ । सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईका अनुसार प्राङ्गारिक परीक्षणको सबै प्रक्रिया यहीँ गरिने र अन्तिम नतिजाका लागि मात्र विदेश पठाइनेछ । योसँगै यहाँ चियाको सूचना केन्द्रसमेत निर्माण गरिनेछ ।  चियासम्बन्धी जानकारी मूलक विषयको सोधखोजका लागि यहाँ सूचना केन्द्र निर्माण गर्न लागिएको हो ।( कारोबार दैनिक)

 

Comment